• The Public Today
  • जनकपुरमा तिहारमा ५५ लाखको फूल


    गोविन्द महतो
    जनकपुरधाम, कार्तिक १० गते :
    दिपावली तथा फूलहरुको पर्व मानिने तिहारमा यस बर्ष जनकपुरधाममा ५५ लाख मूल्य बराबर फूल आयात गरिएको छ । गत बर्षै अनुपातमा यस वर्ष पनि फूल आयात गरिएको हो ।

    [custom-facebook-feed]

    धनुषाको प्रमुख धार्मिक तथा ऐतिहासिक नगरी जनकपुरधाममा गत वर्ष ५० लाख बराबरको फूल आयात गरिएको थियो । गत वर्षको तुलनामा यस वर्ष त्यसको ५ प्रतिशत बढी फूल आयात गरिएको रामजानकी मालि कुटीका अध्यक्ष सुरेन्द्र भण्डारीले बताए ।

    उनका अनुसार गत बर्ष ५० लाख बराबरको फूल आयात गरिएकोमा यस बर्ष फूलको माग बढेकोले ५५ लाख मुल्य बराबरको फूल आयात गरिएको भण्डारीले जनाए ।
    पुष्प व्यवसायीहरुका अनुसार यस बर्ष तिहारलाई लक्षित गरेर कागतिहार, कुकुर तिहार र लक्ष्मी पुजाको दुई दिनको अवधिमा मात्र २५ लाख मुल्य बराबरको फूल विक्रि हुने अनुमान गरिएको भण्डारीले जनाए । फूल छिमेकी मुलुक भारतको कलकत्ता, पटना, सिलिगुडीबाट आउने गरेको छ ।
    पुष्प व्यवसायमा धनुषाबासीहरुको आकर्षण बढेको र गत बर्ष फूलको राम्रो उत्पादन भएपनि माग बढेकोले गत वर्ष भन्दा बढी फूल आयात गर्नुपरेको जानकी मन्दिरमा वर्षौ देखि फूल बेच्दै आएको रामनारायण मालीले बताए । उनले भने, ‘हामीले खेतमा लगाएको फूल यस बर्ष राम्रो फस्टाएको छ । तर पूmलको माग बढेपछि गेना, रजनीगन्धा, मखमली, गुलाव जस्ता फूल बाहिरबाट हामीले मगाएका हौं ।’
    धनुषाको जानकी मन्दिर, राम मन्दिर, राजदेवी मन्दिर, धनुषाधाम लगायतका धार्मिक मठ मन्दिरहरुमा दैनिक रुपमा २० देखि २५ हजार मुल्य बराबरको फूल विक्रि वितरण हुदै आएको जनकपुरधाम उप–महानगरपालिका वडा नं.७ का फूल व्यवसायी गणेश माली बताउँछन । उनले भने, ‘म जानकी मन्दिर तथा राममन्दिरको फूल स्टलबाट दैनिक रुपमा ३ हजार देखि ४ हजारको फूल बेच्ने गर्छु, सोही हिसाबको अनुपातमा हेर्दा दैनिक २० देखि २५ हजारको फूल विक्रि वितरण भएको अनुमान लगाउन सकिन्छ ।’
    उनले एउटा सिजनमा मात्र सयपत्री फूलको खेती लगाउने गरिएकोले एकै पटक उत्पादन नहुने हुदाँ भारतबाट आयात गर्नुपर्ने बाध्यता रहेको माली बताउँछन् । भारतको तुलनामा उत्पादन लागत नेपालमा बढी हुने र तिहारको समय माग ह्वात्तै बढ्ने भएकोले भारतमा निर्भर हुनु परेको उनको तर्क छ । ‘भारतबाट आयात भएको फूलको आकार र आकृति एकै प्रकारको हुन्छ ।

    नेपाली बजारमा उपभोक्ताहरुले त्यही प्रकारको फूल बढी माग हुने गर्छ ।’ उनले भने । भारतबाट आयात भएको फूलको मूल्य पनि नेपाली उत्पादन भन्दा सस्तो भएको हुनाले भारतबाट आयात गर्नुपर्ने माली बताउँछन् ।

    जनकपुरधाममा गेनाको फूल प्रतिगोटा ४०–५० रुपैयाँ रुपैयाँमा विक्रि हुने गरेको छ । यसैगरी सयपत्री फूल ७५ देखि १ सय रुपैयाँ सम्म मालाको साईज अनुसार विक्रि वितरण हुने गरेको छ ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस