काठमाडाैं, चैत ७ गते । गत फागुन २१ गते प्रधानमन्त्री केपी ओली शर्मा सवार यति एयरलाइन्सको विमान होल्ड गरिएको विषयमा छानबिन समितिले रिर्पोट बुझाएकाे छ ।

विमान होल्ड गरिएकाे विषयमा छानबिन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका स–सचिव सुरेश आर्चायको संयोजकत्वमा ५ सदस्यीय समिति बनेको थियो।
छानबिन समितिले बुझाएको प्रतिवेदनमा नेपाल नागरिक उड्डयन प्राधिकरण विमानस्थल कार्यालयका कर्मचारी र एयरलाइन्सका कर्मचारीको लापरबाहीका कारण विमान होल्डमा परेको निष्कर्ष निकालको छ। साथै समितिले लापरबाही गर्ने कर्मचारीलाई विभागीय कारबाहीको लागि प्राधिकरणलाई सिफारिस गर्नुपर्ने सुझाएकाे छ।
छानबिन समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनबहादुर बुढालाई सोमबार बुझाएको रिपोर्टमा विमान होल्ड हुनुमा संवेदनशील सूचना जिम्मेवार निकायले यथासमयमा प्रवाह नगर्नु, जिम्मेवार अधिकारीहरुले कार्यविवरण अनुसारको कार्य नगरेको उल्लेख छ।
साथै समितिले यती एयरलाइन्सलगायत सबै वायुसेवा कम्पनीले आ–आफ्नो ‘फ्लाइट प्रोग्राम’ र ‘फ्लाइट प्लान’मा भिभिआइपीले उडान गर्ने भए अनिवार्यरुपमा जानकारी दिन समेत सुझाएको छ।
यसैगरी, समितिले चन्द्रगढी विानस्थलका टावर कन्ट्रोलर र चन्द्रगढी विमानस्थलका नेपाल नागरिक उड्डयन कार्यालयका प्रमुखलाई विभागीय कारबाही गर्न प्राधिकरणलाई लेखी पठाउने रिर्पोटमा उल्लेख छ।

यती एयरलाइन्सका ग्राउन्ड ह्यान्डलिङ म्यानेजर र फ्लाइट डिपार्चरलाई ड्युटिमा लापरबाही गरेका कारण विभागीय कारबाही गर्न यती एयरलाइन्सलाई निर्देशन दिनुपर्नेसमेत रिर्पोटमा जनाइएकाे छ।