• The Public Today
  • तिहारको चौथो दिन : गाई र गाेरुकाे पूजा गरी मनाइँदै


    काठमाण्डाै, कार्तिक ११ गते : यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोरु र किसानको पूजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ ।

    [custom-facebook-feed]

    गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्व रहेको विज्ञानले पनि प्रमाणित गरेको छ ।

    गाईको पूजा गरी आजका दिन मीठा–मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ । नेपालका कतिपय भाग र केही समुदायमा कात्तिक कृष्ण औँसीकै दिनमा गाईपूजा गर्ने परम्परा रहे पनि औँसीको अन्त्य र प्रतिपदाको शुरुमा गाई पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष रामचन्द्र गौतमले जानकारी दिनुभयो ।

    आज गाईपूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वास पनि रहेको छ ।

    यसैबीच, पञ्चाङग निर्णायक समितिले आजै नेवार समुदायले गर्दै आएको आत्म (म्हः) पूजा गर्नुपर्ने निर्णय गरेको छ । नेवार समुदायका मानिस भने आत्मपूजा आज र भोलि दुई दिन गर्नेमा विभाजित भएका छन् ।

    समितिका सदस्य कीर्तिमदन जोशी शास्त्रसम्मत निर्णयअनुसार आज नै आत्मपूजा गर्ने बताउनुहुन्छ । विशेषगरी पहाडी जिल्लाका नेवार समुदायले आजै आत्मपूजा गरेर भोलि भाइटीका लगाउने तयारी गरेका छन् ।

    उपत्यका र बाक्लो नेवारी बस्ती भएका ठाउँमा भने नेवार समुदाय म्हःपूजा एवं भाइटीका मनाउन विभाजित भएका छन् । सदस्य जोशी भने धर्म राजनीति भएकाले एकथरी मानिस शास्त्रसम्मत पर्व नमनाउने निर्णयमा पुगको बताउनुहुन्छ । –रासस


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस