‘साथीहरुको बिहे गरिदिएको छु, मैलैचाहिँ साहस गरिनँ’

File Photo

विश्वास खड्काथोकी
कार्तिक १३ गते :
प्रेमप्रति गिरिराजमणि पोखरेलको उच्च सम्मान छ । उनले बुझेको प्रेम भनेको हृदयको उच्चत्तम अनुभूति हो । जीवनको कुनै कालखण्डमा यस्तो उच्चत्तर अनुभूति गरे वा गरेनन् ? पोखरेललाई अहिले यसबारे घोत्लिने रुची छैन । नघोत्लिकनै देखिनेचाहिँ उनी ६० वर्ष उमेरसम्म अविवाहित छन् ।

[custom-facebook-feed]

अव त विवाहको सम्भावना टर्‍यो हैन ? शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री पोखरेललाई यस्तो प्रश्नले आक्रोशित, उत्साहित, उत्तेजित, द्रवित, निराश केहि पनि बनाउँदैन । ‘सक्रिय राजनीतिक जीवनमा छु, गर्नुपर्ने अरु नै काम धेरै छन्’, उनी भन्छन्, ‘मलाई हाम्रा प्रारम्भिक राजनीतिक उद्देश्यहरु अहिले पनि यथावत छन् जस्तो लाग्छ ।’

यति बोलेपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता समेत रहेका मन्त्री पोखरेलले खल्तीबाट रुमाल झिकेर मुख छोपे । शनिबारको दिन पुल्चोकस्थित मन्त्री क्वाटरमा भेटिएका उनी बिसन्चो देखिन्थे । औषधि खाइरहेको सुनाए ।

यस्तो बेला श्रीमती वा सन्तानको सहयोगको अपेक्षा गर्ने चलन छ । तर मन्त्री पोखरेल भन्छन्, ‘मसँग आधारशीलाका साथीहरु हुनुहुन्छ । यहाँको सम्पूर्ण व्यवस्थापन उहाँहरुले नै गर्नुहुन्छ । आधारशीला नै मेरो घर हो, परिवार हो ।’

नभन्दै, त्यत्ति नै बेला काटेको फलफूल र तातोपानी लिएर एक अधबैशे पुरुष कोठामा आउँछन् । कात्तिक महिना, मौसम चिसिँदै छ । चीसोमा राहत लिएर आउने अधबैशे पनि आधारशीलाकै एक सदस्य रहेछन् । सहिद, नेता-कार्यकर्ता गरी १५ जनाका ४९ सन्तानको संयुक्त परिवारको नाम आधारशीला राखिएको छ ।

धेरैलाई चासो हुने व्यक्तिगत बिषय विवाहबारे जिज्ञासा दोहोर्याउँदा मन्त्री पोखरेलले आफ्नो बुबालाई सम्झिए, जसले बिहेका लागि छोरालाई मनाउन नसकेपछि फरक-फरक मान्छे पठाइराख्थे । सात छोरा र दुई छोरी गरी नौसन्तान हुर्काएका पोखरेल दम्पत्तिलाई गिरिराजमणि मात्र बिजोडी रहेकोमा ठूलो थक्थकी थियो । तर गिरिराजमणिले विवाह त के, पटक-पटक मन्त्री बनेर बुवाको आशिर्वाद थाप्न घर पुग्ने फुर्सद समेत पाएनन् । हरेक पटक मन्त्री हुँदा बुवालाई भेट्न जाने योजनाचाहिँ बनाएका थिए ।

पछिल्लो पटक शिक्षामन्त्री बनेपछि उनी बुबालाई भेट्न घर जाने समय निकाल्ने प्रयासमा थिए । तर, त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोहमा पुगेका बेला खबर आयो- बुबा रहनु भएन ।

बुबा-आमालाई छोराको घरजम होस् भन्ने थियो, तर सिद्धान्तमा दौडेको छोराको परिस्थितिले त्यो भावनाको कदर गरेन । बुवाको चाहनाअनुसार बिहे नगरेकोमा पश्चाताप लागेन ? कठोर लवजमा पोखरेलले भने, ‘पश्चाताप त धेरै कडा शब्द भयो ।’

बुवा त रहेनन्, तर बेलाबेला बिहेको प्रश्नको जवाफ दिइरहनुपर्छ गिरिराजमणिले । साथीहरु भन्छन्, ‘विवाह गर्ने होइन ?’ कतिले भन्छन्, ‘जोडि मिलाई दिन्छु, पात्र खोजिदिन्छु ।’ तर, उनी ‘अब त उमेर पनि गैसक्यो’ भन्दै टार्छन् । अरुलाई भने बिहेका लागि प्रोत्साहन नै गर्छन् । तर, उनको मान्यता छ-विवाह आपसी प्रेममा आधारित हुनुपर्छ ।’ प्रेम एक शक्तिशाली रसायन भएकाले त्यसमा आधारित विवाह मजबुत हुन्छ भन्ने उनलाई लाग्छ ।

शिक्षामन्त्री पोखरेलको बुझाइमा, विवाह एउटा संस्था, सामाजिक पद्धति पनि हो । जैविक-मानसिक आवश्यकताको दृष्टिले मात्र नभई निजी सम्पत्ति रक्षा र वंश निरन्तरताका लागि पनि वयश्क जोडीहरुबीच विवाह आवश्यक हुन्छ ।

आप\mनै हकमा चाहिँ पोखरेल भन्छन्, ‘कम्युनिष्ट आन्दोलनबाट प्रवाहित भएर हिडेको मान्छे हुँ । आन्दोलन भन्दाभन्दै यहाँसम्म आइयो । संयोगको कुरा पनि होला, कति साथीको बिहे गराइयो । तर आफूले चाहिँ समयमा बिहेको साहस पनि गरिएन ।’

लभमा परेर हिँड्ने उमेरमा उनी बीपी कोइराला, निनु चापागाइँ, अरिम, रामेश आदिका भाषण र गीत सुन्न खोटाङबाट झापासम्म पुग्थे । लभ लेटर लेख्ने समयमा राल्फा आन्दोलनको पत्रिकामा कविता लेख्थे । प्रेमिकालाई उपहार दिने उमेरमा राता किताव र क्रान्तिका पर्चा बोकेर हिँडे । साहित्यप्रति उनको गहिरो मोह थियो । उनलाई लाग्छ, युवाकालमा कविता नलेखेको भए राजनीतिमा यहाँसम्म आइपुगिँदैथ्यो । उनले कविता नलेखेको धेरै भयो, तर बिहे विर्साइदिने तत्वहरुमध्ये कविता र किताब पनि हुन् ।

यती बोलेपछि उनले बिहे-सन्दर्भ ‘क्लोज’ गर्ने संकेत गरे ।

गिरिराजमणी पोखरेल २०३७ सालमा स्नातकोत्तर अध्ययन गर्दैगर्दा नेपाल कम्युनिष्ट पार्टीको पूर्णकालीन कार्यकर्ता भए । मसालले २०४७ मा निर्मल लामा लगायतसँग एकता गरेर नरबहादुर कर्माचार्यको अध्यक्षतामा एकता केन्द्र बनाउँदा पुष्पकमल दाहाल, रुपलाल विश्वकर्मालगायतका नेता थिए ।

पार्टीको महाधिवेशनमा जनयुद्धमा जाने वा नजाने कुरा कार्यनीतिक विषय बन्यो । गिरिराजमणि पनि जनयुद्धको पक्षमै थिए, तर चिनियाँ मोडेलको पक्षमा थिएनन् । त्यसकारण, उनी पनि निर्मल लामा, निनु चापागाइर्ँ, नरबहादुर कर्मचार्य, नारायणकाजी श्रेष्ठहरु झैं जंगल पसेनन् ।

त्यसअघि गिरिराजमणि पोखरेल दुई कार्यकाल अनेरास्ववियुको केन्दि्रय अध्यक्ष, अखिल नेपाल जनवादी युवा संघको संस्थापक अध्यक्ष र वाम मोर्चाको केन्दि्रय सदस्य बने । जनमोर्चा नेपालको पनि केन्दि्रय उपाध्यक्षसम्म बनेर पार्टी हाँके ।

यो प्रसंगमा आइपुगेपछि मन्त्री पोखरेल हाँसे । एकपटक उनी सदस्य रहेको पुरै पोलिटब्युरो अविवाहितहरुले भरिएछ । ‘नरवहादुर दाइ, प्रकाश (नारायणकाजी), सोनाम साथी लगायतका कमरेडहरु मजस्तै अविवाहित हुनुहुन्थ्यो’, फेरि बिहेको सन्दर्भ उप्काउँदै उनले सम्झे, ‘साथीहरु हामीलाई जिस्क्याउनुहुन्थ्यो- पार्टीले सर्त राखेरै यो पोलिटव्युरो बनाएको कि क्या हो !’

नेकपा (माओवादी) शान्ति प्रक्रियामा आइसकेपछि जनमोर्चा नेपालसँग एकिकरण भयो । त्यसपछि बनेको माओवादी केन्द्रमा पोखरेल केन्दि्रय सचिवालय सदस्य र २०७० मा प्रमुख सचेतक बने । दुई पटक संसदीय निर्वाचन जिते, तीन पटक मन्त्री बने । नेपाली परिवेशको राजनीतिमा सफल खेलाडी साबित पोखरेललाई फेरि बिहेकै प्रश्न गरियो । उनले भने, ‘बिहे नगरेकोमा असफल, दुःखी केही छैन । आफ्नो काममा एकनिष्ठ भएर अगाडि बढेकै छु ।’

बिहे भन्दा आधारशीलाकै कुरामा चाख मान्छन् गिरिराजमणि । सामाजिक-सांस्कृतिक रुपान्तरणका लागि पार्टीका पूर्णकालीन नेता-कार्यकर्ता र सहिदका बालबालिकाहरुका राखेर १७ वर्ष अगाडि आधारशीला कम्युन शुरु गरेको उनले बताए । ‘साम्यवादी, समाजवादी आदर्शलाई आफ्नै जीवनमा किन प्रयोग नगर्ने भनेर आधारशीला शुरु गरेका हौं’, उनले अघि भनेका छन् ।

उनले आफ्नो सारा सम्पत्ति आधारशीलालाई दिएका छन् । महोत्तरीको गौरीडाडाँस्थित उनको १३ कट्ठा जमिन आधारशीलाले चर्चेको छ । पाचौँ पटक मन्त्री बनेका गिरिराजमणि पोखरेलले भने, ‘मेरो सारा आम्दानीको हिसाब-किताब आधारशीलाकै साथीहरुले राख्नुहुन्छ ।’

परिवार, वंश, निजी सम्पत्तीबारे फेरि सोधियो । ‘हजारौं वर्षदेखिको चिन्तन र संस्कृतिले कहिलेकाहिँ त छुन्छ नै’, मन्त्री पोखरेलले भने, ‘सांस्कृतिक आन्दोलन गर्न राजनीति, आर्थिक आन्दोलनभन्दा कैयौँ गुणा गाह्रो छ ।’

उनको गिलासको तातो पानी चिसो भइसकेछ । मन्त्रीलाई भेट्न बाहिर थुप्रो पर्खिरहेका छन् । हतारिदै उनले भने, ‘अब कुरा सकौं ?’

मन्त्रीलाई बिहेबारे योभन्दा कति गिजोल्नु ? हामी विनित बन्दै बाहिरियौं ।