• The Public Today
  • छठको दोश्रो दिन आज ‘खरना’ मनाइँदै


    विजय कुमार सिंह
    ढल्केवर, कार्तिक १५ गते ।
    आस्थाको महापर्व छठ पूजाको दोश्रो दिन आज खरना मनाइँदै छ ।

    [custom-facebook-feed]

    आज व्रतालुहरु निर्जल रही बेलुका माटोको चुल्होमा खिर पकाई भगवान लाई चढाएर त्यही प्रसाद खाने गर्छन । छठ पुजाको मुख्य दिन अगाडिको यो एक महत्वपूर्ण विधि हो । यो पूजापछि ३६ घण्टा लामो निर्जल र निराहार भई व्रत सुरु हुन्छ ।

    मिथिलाञ्चलसहित तराई-मधेशमा हर्सोल्लासका साथ मनाईने छठ पूजाको तयारी अन्तिम चरणमा पुगेको छ । धार्मिक नियमपूर्वक आस्था र विश्वासका चारदिनसम्म मनाईने छठको पहिलो दिन नहाय खाय विधि, दोश्रो दिन खरना, तेश्रो दिन अस्ताउँदो सूर्य र चौथो अर्थात अन्तिम दिन विहान उदाउँदो सूर्यलाई अर्घ दिने गर्छन् ।

    सूर्य उपासनाको यो महापर्व छठ पूजाको पहिलो दिन हिजो(बिहिवार) व्रतालुहरुले नुहाइ धुवाइ गरी शुद्ध भई पूजाका साम्रागी तयार गरेका थिए । स्थानीय भाषामा नहाय खाय भन्ने हिजोको दिन व्रत बस्ने महिलाहरु चोखो अरवा चामलको भात, चनाको दाल, फर्सी, लौकाको तरकारी खाएका थिए ।

    शनिवार व्रतालुहरुले बेलुका अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिनेछन भने आइतवार बिहान उदाउँदो सुर्यलाई विधि पूर्वक अर्घ दिएपछि चार दिनको यो पर्व सकिने छ ।

    छठ पर्वमा बासको चोयाको सुपली, नाङ्गलो, माटोको कोसिया कुरबार, हाती लागयतको सामग्रीहरु चढाईन्छ । त्यस्तै प्रसादको रुपमा ठेकुवा, भुसुवा, केरा, खाजा, उखु, हल्दी, अदुवा एवं विविध प्रकारको मिठाई तथा फलफुल सूर्य देवतालाई चढाउने गरिन्छ । छठ पर्वमा सूर्य भगवान अर्थात दिनानाथलाई अर्घ दिन तयार गरिने परिकारहरु अत्यन्तै नियम निष्ठापूर्वक गर्नुपर्ने भएकाले छठलाई निष्ठा र कठोर पर्वको रुपमा मानिन्छ ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, राष्ट्रिय


    प्रतिक्रिया दिनुहोस