• The Public Today
  • निवर्तमान सभामुख महराको थुनछेक बहस सकिएन


    काठमाडौं, कार्तिक १७ गते : संसद सचिवालयकी एक कर्मचारीमाथि बलात्कार प्रयासको अभियोगमा प्रहरी हिरासतमा रहेका निवर्तमान सभामुख कृष्ण बहादुर महरामाथिको थुनछेक बहस सोमबार पनि जारी रहने भएको छ ।

    [custom-facebook-feed]

    काठमाडौँ जिल्ला अदालतमा सरकारी वकीलका तर्फबाट बहस सकिएको छ भने महराको पक्षमा लवप्रसाद मैनालीले मात्र बहस गरेका छन् । 

    महराको पक्षमा बहस गर्ने वकीलहरुको संख्या धेरै भएको र समयाभावका कारण थुनछेकबहसलाई सोमबारपनि निरन्तरता दिइने भएको हो । महराको पक्षमा बहस गर्न करिब २० जना वकिलहरुले वकालतनामा पेश गरेका छन् ।

    जिल्ला अदालत काठमाडौँ स्रोतबाट प्राप्त जानकारी अनुसार महराको पक्षमा बहस गर्न पूर्व महान्यायाधिवक्ता रमण श्रेष्ठको नेतृत्वमा करिब २० जना अधिवक्ताहरुले रुची देखाएका हुन् । 

    जसमा वरिष्ठ अधिवक्ता तथा पूर्व महान्याधिवक्ता रमण श्रेष्ठ, वरिष्ठ अधिवक्ता तथा नेपाल बारका पूर्व अध्यक्ष शेर बहादुर केसी तथा वरिष्ठ अधिवक्ताहरु लवप्रसाद मैनाली, कृष्णप्रसाद सापकोटा, सबिता भण्डारी बराललगायत रहेका छन् । जसमा मैनालीले मात्रै आज बहस गरेका हुन् । 

     नेपाल सरकारको तर्फबाट भने आज ४ जनाले बहस गरेका छन् । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका सह न्यायाधिवक्ता चन्द्रकान्त खनालका अनुसार नेपाल सरकारको तर्फबाट सह न्यायाधिवक्ता चन्द्रकान्त खनाल, जिल्ला न्यायाधिवक्ताद्वय उमाकान्त पौडेल र हरिप्रसाद रेग्मी तथा सहायक जिल्ला न्यायाधिवक्ता सिर्जना ढकालले बहस गरेका हुन् । 

    काठमाडौं जिल्ला अदालतका स्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले प्रतिवादीलाई सोमबार १० बजे पुन अदालतमा उपस्थित गराउन आदेश दिइएको जानकारी दिए ।



    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, राजनीति, राष्ट्रिय

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस