तोकेको भन्दा आधा कम मूल्यमा उखु बेच्दै सर्लाहीका किसान

फाइल फोटो

सर्लाही, कात्तिक २० गते । चिनी उद्योग तत्काल सञ्चालनमा नआउने छाँट देखेपछि सर्लाहीका किसानले धमाधम उखु काटेर आधा कम मूल्यमा सख्खर (मिठा) उत्पादन गर्ने स्थानीय क्रसर उद्योगलाई बिक्री गर्न थालेका छन् । विशेषगरी जिल्लाको दक्षिण–पश्चिम क्षेत्रका किसानले तीन साताअघि देखि स्थानीय क्रसर उद्योगमा उखु दिन सुरु गरेका हुन् ।

[custom-facebook-feed]

बढ्दो महङ्गीकाबीच गत वर्ष नै सरकारले तोकेको भन्दा आधा कम मूल्यमा किसानले धमाधम उखु बेचिरहेका छन् । गत सिजनमै सरकारले उखुको प्रति क्वीन्टल पाँच सय ३६ रुपियाँ ५६ पैसा मूल्य तोकेको भएपनि किसानहरु बढ्दो महङ्गी खेप्दै आधा भन्दा कम अर्थात् दुई सय ५० रुपियाँ प्रति क्वीन्टलमै क्रसर उद्योगलाई उखु बेच्न बाध्य भएका छन् । कुनै क्रसर उद्योगले तीन सयदेखि तीन सय ५० रुपियाँसम्म दिएको र अधिकांशले दुई सय ५० रुपियाँ प्रति क्वीन्टल भन्दा बढी उखुको मुल्य नदिएको दक्षिणी क्षेत्रका किसानले गुनासो गरेका छन् ।

गहुँ तथा मुसुरोसहित दलहन एवं तेलहन बाली लगाउनका लागि समय घर्कीने हुनाले सिँचाई हुने दक्षिणी क्षेत्रका किसानलाई खुट्टी उखु तत्काल हटाउने चटारो छ । किसानको त्यही अफठ्यारोलाई स्थानीय क्रसर उद्योग सञ्चालकले भने निकै कम मूल्य दिएर उखु खरिद गर्ने अवसरको रुपमा लिएका छन् । हाल जिल्ला स्थित दक्षिणी क्षेत्रमा तीन दर्जन बढी उखु क्रसर उद्योग सञ्चालन भईरहेको स्थानीयले बताएका छन् ।

चिनी उद्योग चल्ने छाँटकाँट छैन, तीन वर्षे खुट्टी उखु हटाएर गहुँ तथा मुसुरोलगायत दलहन तथा तेलहन बाली लगाउन हतारो भैसक्यो, बरहथवा नगरपालिका–११ दियरका किसान रामकैलास यादवले भन्नुभयो, सस्तैमा सख्खर बनाउने क्रसरलाई उखु दिन बाध्य छौं । पर्खेर चिनी उद्योगलाई दिँदा पनि वषौँसम्म पैसा नै नपाईने भएपछि किसानहरु सस्तैमा हात्ताहाती भुक्तानी लिनका लागि क्रसर उद्योगलाई नै उखु दिन बाध्य भएको यादवको गुनासो छ । एक क्वीन्टल उखुबाट झण्डै १० किलो मिठा तयार हुने गरेको र मिठा कम्तिमा ५० रुपियाँको दरले विक्री हुने भएपनि किसानले क्रसर उद्योगलाई उखु अत्यन्त न्यून मूल्यमा बेच्न बाध्य भएको जानकारहरुले बताएका छन् ।

चिनी उद्योगलाई दिएको उखुको तीन वर्षदेखिको भुक्तानी बाँकी रहेकाले यसवर्ष बेलैमा क्रसर उद्योगलाई सस्तैमा उखु बेचेको गोडैता नगरपालिका–१०, सिसौटियाका किसान विन्देश्वर मण्डलको भनाई छ । धनकौल चिनी उद्योगलाई तीन वर्ष अघि दिएको उखुको भुक्तानी अझै पाईएको छैन्, मण्डलले गुनासो गर्दै भन्नुभयो, त्यसैले यसवर्ष उचित मूल्य भन्दापनि नगदै लिनका लागि सस्तैमा क्रसर उद्योगलाई उखु दिईरहेको छु ।

चिनी उद्योगले वर्षौंसम्म भुक्तानी नगर्ने र नेपाल सरकारले समेत अनुदान रकममा निकै ढिलासुस्ती गर्ने गरेका कारण केही वर्षयता किसानहरु उखु खेतीबाट विरक्तिएका नेपाल उखु उत्पादक महासङ्घका अध्यक्ष कपिलमुनी मैनाली बताउनुभयो । बढ्दो महङ्गी तथा लागत अनुपात अनुसार उखुको मूल्य समायोजन नहुने समस्या एकातिर छ, मैनालीले भन्नुभयो, अर्कोतिर चिनी उद्योग र स्वयं सरकारबाट समयमै भुक्तानी नपाउनाले उखु किसान विरक्तिएका छन् ।

सरकारले गतवर्ष नै किसानले पाउने उखुको मूल्य पाँच सय ३६ रुपियाँ ५६ पैसा तोकेको थियो । जसमा उद्योगले चार सय ७१ रुपियाँ २८ पैसा तथा सरकारले ६५ रुपियाँ २८ पैसा अनुदान स्वरुप किसानलाई उपलब्ध गराउने भनिएको छ । तर सरकारले तोकेको मूल्य अनुसार किसानले चिनी उद्योगबाट विगत तीन वर्षदेखि भुक्तानी पाउन सकेका छैनन् । पश्चिम धनकौलस्थित अन्नपूर्ण सुगर मिल तथा बगदहमा गतवर्ष देखि सञ्चालनमा आएको महालक्ष्मी सुगर मिलले किसानको करोडौं भुक्तानी दिएका छैनन् ।

सर्लाही मुलुकमै सबैभन्दा बढी उखु उत्पादन हुने जिल्ला हो । यहाँ २५ हजार हेक्टर भन्दा बढी क्षेत्रफलमा उखु खेती हुने गरेको कृषि ज्ञान केन्द्र मलङ्गवाले जनाएको छ । -जनार्जन खत्री / गोरखापत्र