• The Public Today
  • जनजाति किन पछाडी ? (विचार)


    अरु राष्ट्रलाई कब्जा गर्नको लागि सबैभन्दा पहिला भाषा र सँस्कृतिमाथि कब्जा जमाऊ ।

    १. सार ( Abstract)

    [custom-facebook-feed]

    जनजाति किन पछाडि प¥यो ? यसको ऐतिहासिक कारण र सामाजिक मनोवैज्ञानिक कारणको खोजी गर्नु यस अनुसन्धानको उद्देश्य हो । यो अन्वेषणात्मक र व्याख्यात्मक अनुुुसन्धान ढाँचामा रहेको छ । यसमा असम्भावित नमुना छनोटको सुविधाजनक नमुना छनोट विधि अपनाई गुणात्मक तथ्यांक संकलन गरिएको छ । प्राथमिक र द्वितिय तथ्यांक स्रोतहरुको प्रयोग गरिएको छ । बर्दिवासको हात्तिलेट, किसाननगर, माइस्थान, बर्दिवास र खयरमारा यस अनुुसन्धानको अध्ययन क्षेत्र हुन ।

    जनजाति भनेको कुनै खास मानव समुदाय हो “जसको छुट्टै सांस्कृतिक पहिचान, बसोवास क्षेत्र ,हामी भन्ने भावना हुन्छ र जो राज्य सञ्चालनको निर्णायक भुमिकामा रहेका हुदैनन् ।” (जनजाति उत्थान प्रतिष्ठान कार्यदल, २०५३ ) २०५८ माघ २५ गतेको राजपत्रमा प्रकाशित सुचना अनुसार यस्ता जनजातिहरु हिमालमा १८, पहाडमा २४ र मधेश÷ तराइमा १७ गरी जम्मा ५९ प्रकारका रहेका छन् । नेपाल राज्यको निर्माणसँगै विभिन्न जनजातिय राज्यहरु विलीन भए । जसरी नेपाल एक भाषा एक देश बन्यो त्यसरी नै जनजातिय भाषा, सँस्कृति र अस्तित्व क्रमशः संकटमा पर्दै गए ।

    जीवनस्पर्शी
    -लेखक

    नेपालको सन्दर्भमा जनजाति सिमान्तकृत र पछाडि पर्नुको ऐतिहासिकता यही हो । जनजाति पछाडि पर्नुमा जनजातिको सामाजिक मनोविज्ञानले पनि काम गरेको छ । सामाजिक मनोविज्ञानको निर्माण तत्कालिन सामाजिक संरचनाबाट प्रभावित मनोविज्ञान हो । सामाजिक मनोवैज्ञानिक लेविन (Kurt Lewin) भन्छन् “मानिसको सामाजिक व्यवहार उ र उसँगको सामाजिक परिस्थितिविचको अन्तरक्रियाको परिणाम हो ।” लेविनको भनाईमा “व्यवहार= (व्यक्ति +÷–सामाजिक परिस्थिति)हो । – Defining social Psychology: History and Principal, by Rajiv Jhangiani) जनजाति मनोविज्ञान सोझो, ढाटछल नगर्ने, काम मात्र गर्न खोज्ने र नहेप्ने बरु हेपिएर बस्न रुचाउने किसिमको हुनुमा त्यसबेलाको समानतामा आधारित जनजातिय कबिला राज्यमा भएको सामाजिक संरचनाबाट निर्मित मनोविज्ञान र त्यसको पुस्ता हस्तान्तरण हो । नेपालमा जनजाति पछाडि पर्नुमा यस किसिमको मनोविज्ञानले पनि काफि हदसम्म काम गरेको देखिन्छ । यसै कुरालाई पुष्टि गर्नु यस अनुसन्धानको औचित्य हो ।

    २. साहित्य समिक्षा ( Literature Review)

    नेपालका जनजातिबारे समाजशास्त्रीय अध्ययन प्रशस्त भएका छन् । बिभिन्न उशपागमबाट गरिएका ती अध्ययनहरुले नेपाली जनजातिको अवस्थालाई यथार्थपरक ढंगमा प्रस्तुत गरेका छन् । नेपालमा जनजाति किन पछाडि परे ? भन्ने कुराको उत्तरको रुपमा ती अध्ययनहरु नै काफि छन् । जस्तो कि केही प्रतिनिधि अध्ययनहरुलाई यहाँ प्रस्तुत गरिन्छ ः–

    १. डा. हर्क गुरुङ :
    जनजाति साँस्कृतिक र वैधानिक रुपमा पछाडि कसरी ? यसको ऐतिहासिक कारणबारे डा. हर्क गुरुङ भन्नुहुन्छ :

    “ जनजाति समुहमा हिन्दु धर्मको प्रभाव सो धर्मका शासकसितको सम्पर्क अवधिको अनुपातमा भयो, पहिले विजित मगरहरुमा, त्यसपछि गुरुङहरुमा र पुर्विय किराँतमा क्रमशः थोरै । शाहकालमा दिव्य उपदेश र राणाकालमा मुलुकी ऐन मार्फत नेपालमा हिन्दु वर्चस्वलाई वैधानिक मान्यता दियो । जात वर्गीकरणको सिरानमा तागाधारी, माझमा मतवाली र पुछारमा अछुत राखियो ।”

    उहाँ भन्नु हुन्छः “नेपालमा जनजाति समस्या राज्य संरचनाबाटै भएको छ । गोर्खाली राज्य विस्तारबाट भौगोलिक एकीकरण त भयो तर तागाधारी अहमले सामाजिक विभेद स्थापित ग¥यो । त्यसबाट जनजातिको हिन्दुकरण, भुमि अतिक्रमण र मातृभाषा तथा संस्कृतिको दमन भयो । गोर्खाली राज्यको दमन विरुद्धका विभिन्न जातिय विद्रोहहरु जस्तै दश लिम्वुवान विद्रोह १९७० , तामाङ विद्रोह ( नुवाकोट) , १९९०, विmपट प्रथा उन्मुलन विरोध( इलाम), १९६४ आदि दबाइए ।” (नेपालको सन्दर्भमा समाजशास्त्रीय अध्ययन)

    २. सीताराम तामाङ
    प्राचिन जनजातिको समाजिक संरचनाबारे तामाङ भन्नुहुन्छः

    “ …..अतिक्रमण हुनुभन्दा पहिले यहाँका जनजातिहरु हरेकको आ–आफ्नै प्रकारका सामाजिक राजनितिक शाषन प्रणाली थियो । उनीहरुको जीवन पद्धति युगौदेखि चलिआएको सामाजिक साँस्कृतिक बनोटको आधारमा चलेको हुन्थ्यो । उनीहरुको उत्पादन पद्धति सामुदायिक हुन्थ्यो । त्यो पद्धति खोरिया खेति र पशुपालन व्यवस्थामा आधारित थियो । उनिहरुको भूमि सामुहिक थियो जसलाई किपट भनिन्थ्यो । यो किपट प्रथा अन्तर्गत सबै आम्दानीका स्रोतहरु गेत्रिय नियन्त्रणमा रहन्थे र आवश्यकता अनुसार बाँडचुड गरिन्थ्यो । समाज वर्गीय भन्दा सामुदायिक र नातागोतामा बढि आधारित थियो ।”

    पछाडि पर्नुको ऐतिहासिकतालाई उहाँ यसरी उजागर गर्नुहुन्छः
    “तर नेपालमा हिन्दु जातिहरुको आप्रवासनसँगै परम्परादेखि आदिवासीहरुले आवाद गर्दै आएको जमीनमाथिको स्वामित्व खतम हुदै गयो । आदिवासीहरुमा जातभात, उच निच, वर्गभेदको धारणाको विजारोपण गरीयो र क्रमशः हिन्दु राज्य सत्तामा विलीन भए ।”

    शाषक वर्गको लामो थिचोमिचो, शोषण, उत्पीडन र अतिक्रमणको कारण जनजातिका अत्याधिक संख्या कि त सीमान्त किसान भए, कि त जमिनबाट विस्थापित भएका छन् ।” ( माक्र्सवाद र नेपालमा जनजाति आन्दोलन)

    ३. मोहन गोले
    तमाङ जाति किन पछाडि प¥यो? यसको ऐतिहासिकतबारे अध्यता मोहन गोले यसो भन्नुहुन्छः

    ” सन १८१६ को सुगौली सन्धीपछि औपचारिक रुपमा गोर्खा भर्ती केन्द्र खुल्यो तर शासकिय कुदृष्टीका कारण दरबारको स्याहार सुसार गर्न वरपर बस्ने तामाङ युवायुवति आवश्यक पर्ने हुदा पुर्वमा राई लिम्वु पश्चिममा मगर, गुरुङ मात्र भर्तिको लागि अनुमति पाए । त्यसैले तामाङ युवाको ठुलो संख्याले आफ्नो जाति मगर, गुरुङ, सिकारी, सुनुवार,पाँडे र बस्नेत लेखि विदेशी सेनामा भर्ना हुन बाध्य भए । धेरै तामाङले जात फेरेको हुनाले त्यसबेला एउटा उखान थियो “ गुरुङले धर्म फेरी जात उकास्यो, थकालीले धर्म फेरी दरबार पसे र तामाङले जात फेरी मुगलान पस्यो । मतवालीहरुलाई मासिने र नमासिने वर्गमा विभाजित गरी तामाङलाई मासिनेमा राखेका थिए जसअनुसार पन्चअपराध गरेमा बाहुनलाई चारपाटा मुडिन्थ्यो भने तामाङको टाउको गिडेर छुट्याइन्थ्यो । हालको काभ्रपलान्चोक, सिन्धुपाल्चोक, रामेछाप र सिन्धुली जिल्लामा तामाङ जातिको किपट भुमिहरु थिए । तिब्बतको यृद्धताका भारी बोके बापत सिन्धुपाल्चोकका किपटहरुलाई डोके किपट बनाइएको थियो । पछि यस्ता किपटहरुमा कर लाग्न थाले पछि तामाङहरुले किपट छाडे ।”( आदिवासी जनजातिः उत्पीडन र मुक्तिको सवाल)

    माथिका प्रतिनिधि अध्ययनहरुले जनजाति पछाडि पर्नुका ऐतिहासिक कारणहरु प्रस्ट पार्दछन् । धेरै पुराना र नयाँ अध्यताहरु जस्तै समाजशास्त्री डोरबहादुर विष्ट, हर्क गुरुङ, कापलान, ओम गुरुङ, सिताराम तामाङ, रामबहादुर बुढा, मोहन गोले आदिका अध्ययनहरुका आधारमा के भन्न सकिन्छ भने जनजाति समुदाय आफै पछाडि परेको होइन । यसको कारण भनेको गोर्खा राज्य विस्तारको क्रममा थोपरिएका राज्यका विभेदकारी नीतिहरु हुन । प्रजातन्त्र प्राप्तीपछि पनि ती नीतिहरु प्रत्यक्ष र घुमाउरो पाराले लागु भएका देखिन्छन् । यति हुदा हुदै पनि जनजातिहरु किन चुप लागि बसे ? किन जनजाति आन्दोलनले सफलता प्राप्त गर्न सकेन ? यसको उत्तर भने जनजाति आन्दोलन विभाजित हुनु हो । सजिलै विभाजित हुनुमा जनजातिको सामाजिक मनोविज्ञानले काम गरेको छ ।

    ३. अनुसन्धान विधि (Methodology)

    यो अन्वेषणात्मक र व्याख्यात्मक अनुुुसन्धान ढाँचामा रहेको छ । यसमा असम्भावित नमुना छनोटको सुविधाजनक नमुना छनोट विधि अपनाई गुणात्मक तथ्यांक संकलन गरिएको छ । प्राथमिक र द्वितिय तथ्यांक स्रोतहरुको प्रयोग गरिएको छ । बर्दिवासको हात्तिलेट, किसाननगर, माइस्थान, बर्दिवास र खयरमारा यस अनुुसन्धानको अध्ययन क्षेत्र हुन ।
    अध्ययन क्षेत्रहरुमा गई अनुुसन्धानकर्ताले जम्मा २० जना व्यक्तिहरुसँग असंरचित र खुला प्रश्नावली प्रयोग गरी अन्तवार्ता लिइएको थियो । १० जना सर्वसाधारण जनजाति र १० जना जनजाति कार्यकर्ताहरुसँग अन्तवार्ताको माध्यमबाट प्राथमिक तथ्याङक संकलन गरिएको थियो ।

    ४. तथ्याङ्क प्रस्तुती र विश्लेषण (Data Presentation & Analysis)

    क. तथ्याङ्क(Methodology)
    अनुसन्धानबाट प्राप्त तथ्याङ्कलाई तल प्रस्तुत गरिन्छ :

    पाइचार्ट

    माथिका तथ्याङ्कलाई केलाउदा के देखिन्छ भने जनजाति पछाडि पर्नुको सबैभन्दा मुख्य कारण सोझोपन हो । साधारण जनजातिको नजरमा सोझोपन उनीहरुको स्वभाव हो । कसैलाई छलकपट गरेर पैशा कमाउनु उनीहरुका लागि ठुलो पाप हो । अर्को मुख्य कारण आफुले फडानी गरेर बस्दै आएको थातथलो सानो तिनो समस्या टार्न सस्तैमा बेचेर, चक्कु, रक्सी, आदिमा साटेर जमिन मास्दै जानु उनीहरुका आर्थिक पिछडापनको कारण देखिन्छ । त्यसपछिका कारणहरु राजनितिमा पहुच कम हुनु, अधिकारप्रति जागरुक नहुनु देखिन्छन् ।

    ख. जनजाति : ईतिहास र मनोविज्ञानको नजरबाट
    हामी सोच्ने गर्छौ जनजाति लाटो, सीधा, अनपढ, पिछडिएको, मतवाली भएकै कारणले हरेक क्षेत्रमा पछाडि परेका हुन । माथिका सन्दर्भहरु हेर्दा जनजाति त्यस्तो हुनुमा ऐतिहासिक रुपमा निर्माण भएका उनीहरुका सामाजिक मनोविज्ञान हो । जनजाति गणराज्यहरु समानतामा आधारित थिए । सामुदायिक अर्थतन्त्र भएका ती राज्यहरुका मानिसहरुविच षडयन्त्र, छलकपट र सत्ता लुछाचुडी लगभग थिएन । लिगलिग राज्यको दौड प्रतियोगिता, किपट प्रथा, लैगिक समानता, जनजाति महिलाको श्रममा सहभागिता, मनोरञ्जन र साँस्कृतिक क्रियाकलापमा जोड आदि जनजातिका सामाजिक मनोविज्ञान निर्माणका संरचनाहरु हुन् । यी सामाजिक संरचना र अभ्यासहरुले गर्दा जनजातिले न कहिल्यै षडयन्त्र गर्न सिके न त शासन नै गर्न सिके । यही मनोविज्ञान पुस्तौ पुस्ता हस्तान्तरण हुदै आयो ।

    यस्तो मनोविज्ञान भएका जनजातिहरुलाई फुटाउन र राज गर्न सजिलो भएको देखिन्छ । आज पनि तमाम जनजातिहरुलाई आफ्नो ईतिहास र अधिकारप्रति रुचि छैन । मधपान उनीहरुको सँस्कृति भएको छ । उही समय र उही दौतरीका अन्य जातिका साथीहरु शैक्षिक, राजनैतिक, आर्थिक, सामाजिक रुपमा धेरै माथि पुगि सके तर जनजाति साथी भने जहाँको त्यै देखिन्छन् । भएका जग्गा जमिन रक्सीसँग, हतियारसँग साटेर सेकेको देखिन्छ जनजातिले भने अरु जातिले जग्गा जोड्दै गएको देखिन्छ । “तपाईलाई ढाटेर छलेर पैशा कमाउन मन लाग्दैन ?” यो प्रश्न गर्दा आजको गाउँका साधारण जनजाति युवाहरुले बरु आफै पसिना बगाएर खान्छौ त्यसो गर्दैनौ भन्छन् । जनजाति बे्रन नै सीदापन र इमान्दारिताको जीनले बनेको छ त्यसैले छल्नु उसको लागि ठुलो पिडाको विषय हुन्छ । सायद यही गुणले गर्दा उनीहरु नेतृत्व गर्न खोज्दैनन् , रिक्स मोल्न चाहादैनन् । राजनिति भनेको अनेक दाउपेचको खेल हो जहाँ उनीहरु भनेको र अह्राएको मात्र पालना गर्ने तहमा हुन्छन् । कथम्कदाचित नेतृत्व तहमै पुगे पनि असफल पारिन्छन् । यसरी भनिरहदा जनजाति स्वभाव नराम्रा हुन भन्न खोजिएको होइन ।

    भाषा र धर्मको विलोपिकरण जनजातिको अस्तित्व संकटका सुचक हुन् । नयाँ पुस्ताले आफ्नो भाषा, धर्म र सँस्कृतिप्रति अरुचि देखाएका छन् । यसो हुनुमा बाह्य सँस्कृतिको जवर्जस्त प्रभाव एउटा कारण भए पनि जनजाति भित्रकै विचलन अर्को कारण हो । राज्यले जनजाति क्लस्टर वस्तीहरुलाई तितर वितर पार्नु र भाषिक साँस्कृतिक दमनद्वारा विभाजित पार्नु पक्कै पनि जनजाति सँस्कृतिको विलोपिकरणको कारण हो नै । यो ऐतिहासिकतालाई कसैले अस्विकार गर्न स्रक्दैनन् तर जनजाति किन सचेत भएनन् ? साँस्कृतिक पुनर्जागरण किन हुन सकेन ? प्रश्न यथावत छ । के यसमा आफु कमजोर छु , बुद्धु छु , मेरो सँस्कृति केही होइन भन्ने साँस्कृतिक मोहभंगले काम गरेको छैन र ?
    माथिको तथ्याङ्क अनुसार १५ प्रतिशतले जनजाति अधिकारको बारेमा थाहाँ नभएको कुरा व्यक्त् गरेका छन् ।

    ५. निष्कर्ष

    इतिहास तितो छ । अन्याय, अत्याचार र उत्पीडनले जनजाति पछाडि परेको हो । राज्यको षडयन्त्र र विभेदकारी नितिले गर्दा जनजाति बहिष्करणमा परेका हुन् । अनि यो इतिहासभित्र लुकेको र कहिल्यै नबदलिएको कुरा हो ः– “जनजाति सामाजिक मनोविज्ञान” जुन उनिहरुले युगौदेखि पुस्ता हस्तान्तरण गर्दै आए । आजको एकाइसौ सदीमा पनि जनजाति युवाहरु त्यही शाषित ,कमजोर र भुत्ते मनोविज्ञान लिएर हरेक क्षेत्रमा पछाडि परिरहेका छन् ।

    सामाजिक मनोविज्ञान ऐतिहासिक सामाजिक संरचनाबाट निर्मित हुन्छ । तर के यो स्थिर हुन्छ र ? पक्कै हुदैन । अबको युगमा जनजातिले आफ्नो इतिहासको पाना पाना याद गर्नु पर्छ र इतिहास सचेत रहनु पर्छ । आजको युगले मागेको जनजाति अधिकारबारे सचेत हुनु पर्दछ । इतिहासमा लोप भएका भाषा, संस्कृति र जीवनपद्धतिको पुनर्जागरण गर्नु पर्दछ । यही विन्दुबाट पिछडिएको जनजातिय मनोविज्ञानमा रुपान्तरणको सुरुवात हुन्छ ।

    यसको मतलव जनजातिले इमानदारिता त्याग्नु पर्छ भन्ने कदापि होइन । तर शाषित मात्र हुनु हुदैन भनेको हो । हेपिइएर बाँच्नु हुदैन भनेको हो । प्रतिस्पर्धामा भाग लिनु पर्छ र जित्नु पर्छ भनेको हो । अन्याय पर्दा बोल्नु पर्छ भनेको हो । समग्रमा भन्दा शैक्षिक, सामाजिक, राजनैतिक, आर्थिक हरेक डाइमेन्सनमा अव्वल हुनु पर्छ भनेको हो । आफ्नो पहिचान र सँस्कृतिप्रति सचेत रहदै, त्यसको संरक्षण गर्दै एकाइसौ सताव्दीको एडभान्स जनजातिमा रुपान्तरण हुनु पर्छ भनेको हो ।

    सन्दर्भ सामग्रीहरु
    १. जनजाति उत्थान प्रतिष्ठान कार्यदल, २०५३ प्रतिवेदन
    २. Defining social Psychology: History and Principal, by Rajiv Jhangiani
    ३. नेपालको सन्दर्भमा समाजशास्त्रीय अध्ययन
    ४. माक्र्सवाद र नेपालमा जनजाति आन्दोलन, सीताराम तामाङ
    ५. आदिवासी जनजातिः उत्पीडन र मुक्तिको सवाल, मोहन गोले


    क्याटेगोरी : विचार

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस