संघिय सरकारविरुद्ध खनिए मुख्यमन्त्री राउत

जनकपुरधाम, कार्तिक २३ गते । प्रदेश नम्बर–२ का मुख्यमन्त्री लालबाबु राउतले संघीय सरकारले आफू नेतृत्वको प्रदेशप्रति विभेद गरेको आरोप लगाएका छन् ।

[custom-facebook-feed]

शनिबार जनकपुरमा नेपाल साहित्य उत्सवले आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री राउतले संघ सरकारको द्वैध चरित्रका कारण प्रदेश नम्बर २ नेपालभित्र छ कि भन्ने दोधारे भान हुने टिप्पणी गरे ।

प्रदेश वा परदेश शीर्षकमा भएको छलफलमा मुख्यमन्त्री राउतले देश भौगोलिक रुपमा एकीकरण भएपनि अहिलेसम्म पनि भावनात्मक रुपमा एकीकरण हुन नसकेको बताए । देशको ६ वटा प्रदेशमा एक पार्टीको सरकार र प्रदेश नम्बर दुईमा मात्रै फरक पार्टीको सरकार रहेकाले संघ सरकारले समान व्यवहार गर्न नसकेको उनको तर्क थियो । 

मुख्यमन्त्री राउतले बजेट उपलब्ध गराउनेदेखि लिएर अन्य सेवा सुविधा उपलब्ध गराउन सम्ममा पनि संघ सरकारले प्रदेश नम्बर दुईमाथि बेइमानी गरेको गुनासो गरे । उनले भने ‘बजेट बाँड्ने बेलामा सबै प्रदेशलाई समान रकम दिइन्छ, पछि अन्य रकम भित्र भित्रै उपलब्ध गराउँदा प्रदेश दुईलाई छोडेर उपलब्ध गराइन्छ के यो समान व्यवहार हो ?’ मुख्यमन्त्री राउतले अगाडी भने ‘मैले अमेरिका जानका लागि राहदानी बनाउने प्रकृया अगाडि बढाएँ, मेरो बन्न सकेन तर शेरधन राई लगायतका अन्य मुख्यमन्त्रीहरु कयौँ पटक विदेश भ्रमण गरेर आइसके, के यो असमान व्यवहार होइन ?’

संघ सरकारले खुट्टा तान्ने प्रवृत्ति नछोडेसम्म संघीयता कार्यान्वयन र देशको विकास सम्भव हुन नसक्ने उनको भनाई थियो ।

संघ सरकारप्रति आक्रामक रुपमा प्रस्तुत भएका मुख्यमन्त्री राउतले प्रदेशमा अहिले पनि कर्मचारी अभावको समस्या रहेको बताए । 

संघ सरकारले  कानून निर्माण,  विकास निर्माण तथा सामाजिक रुपान्तरणको सवालमा कुनै पनि सहयोग नगरेको मुख्यमन्त्री राउतले आरोप लगाए । प्रदेश दुई लगानी गर्न आउने दातृ निकायहरुलाई समेत संघ सरकारकै पदाधिकारीहरुहरुले प्रदेश दुईमा नजान सल्लाह दिने गरेको उनले गम्भीर आरोप लगाए । मुख्यमन्त्री राउतले स्वतन्त्र रुपमा काम गर्न दिइए केही वर्षमै प्रदेशहरु  र समग्र देशकै कायापलट हुनसक्ने दावी गरे । -रातोपाटी