मध्यरातमा श्रीमतीसँग भेटिएपछि छिमेकीको हत्या !

विराटनगर, मंसिर ६ गते : इनरुवा नगरपालिका– ३ सोमबारेका ४५ वर्षका कारी यादवको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले छिमेकी श्रीमान श्रीमतीलाई पक्राउ गरेको छ ।

[custom-facebook-feed]

बुधबार मृत अवस्थामा भेटिएका यादवको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले छिमेकी अशोक पण्डित र अनिता पण्डितलाई पक्राउ गरेको हो । पक्राउ परेका श्रीमान श्रीमती हुन् ।

कसरी भयो हत्या ?

बजारनजिकै विभत्स अवस्थामा शव भेटिएपछि अनुसन्धान सुरु गरेको प्रहरीले हत्याको कारण अवैध सम्बन्ध भएको बताएको छ ।

प्रहरीका अनुसार अशोककी श्रीमती अनिता र कारी बीच एक वर्षयता अवैध सम्बन्ध थियो । वैदेशिक रोजगारीमा रहेका अशोकले श्रीमतीको सम्बन्धका बारेमा जानकारी पाएका थिए । भर्खरै घर फर्किएका उनले श्रीमतीलाई सम्झाएका पनि थिए । तर मंगलबार राति साढे ११ बजे आफ्नै घरको बरण्डामा श्रीमती र कारीलाई आपत्तिजनक अवस्थामा भेटे ।

श्रीमतीलाई परपुरुषसँग भेटेपछि आवेशमा कारीको हत्या गरेको उनले स्वीकार गरेका छन् ।

राति सँगै सुतेकी श्रीमती नभेटिएपछि बाहिर निस्किएर हेर्दा परपुरुषसँग देखिएपछि धारिलो हतियार प्रहार गरी हत्या गरेको अशोकले स्वीकार गरेका प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार घटनाअघि कारीले अनितालाई दुई पटक फोन गरेको देखिन्छ । पहिलो फोनमा भेटौ भन्ने प्रस्ताव गर्दा श्रीमान भएका कारण भोलि भेट्न भनेकी थिइन् । तर फेरि फोन गरी बाहिर आएकाले बरण्डा आउन भनेकी थिइन् ।
तर केही समयपछि निस्किएका अशोकले भेटेपछि कारीलाई कुटपिट गरी धारिलो हतियार प्रहार गरे । हत्या भएपछि भने दुबै जनाले सँगै घिसारेर केही पर लगेर फालेका थिए ।

प्रहरीले कारीको कल डिटेलका आधारमा अनितालाई पक्राउ गरेको थियो । अनितामाथि केरकार गर्दा उनका श्रीमान पक्राउ गरेको सुनसरीका प्रहरी उपरिक्षक यज्ञविनोद पोखरेलले जानकारी दिए । अनलाइनखबर