काठमाडौं, चैत्र ८ गते । आसन्न माध्यमिक शिक्षा परीक्षा (एसइई) को तयारी पुरा भएको छ । यही चैत्र १० देखि २१ गतेसम्म हुने परीक्षामा कुल ४ लाख ७५ हजार तीन परीक्षार्थी सामेल हुँदै छन् ।
जसमा दुई लाख ३६ हजार ४ सय ४५ छात्र र दुई लाख ३८ हजार ५ सय ५८ छात्रा रहेको राष्ट्रिय परीक्षा बोर्ड मातहतको परीक्षा नियन्त्रण कार्यालयका नियन्त्रक विष्णु अधिकारीले जानकारी दिए ।
यस वर्षबाट एसईई परीक्षामा प्रदेशगत फरक प्रश्न सोधिने भएको छ । गत वर्ष देशभर चार किसिमको प्रश्न सोधिएको थियो ।
साधारणतर्फको अनिवार्य छ वटा विषयको प्रश्नपत्र प्रदेशगत रूपमा फरक बनाइएको छ भने प्राविधिक र संस्कृततर्फ एकै प्रकारका प्रश्नपत्र रहने छन् ।
देश संघीयतामा गइसके पछि पहिलो पटक परीक्षा व्यवस्थापन, सञ्चालन, अनुगमन, उत्तर पुस्तिका खरिदलगायत सम्पूर्ण काम प्रदेश सरकारलाई दिइएको हो ।
तर, प्रश्नपत्र छपाई, उत्तर पुस्तिका परीक्षण र परीक्षाफल प्रकाशित गर्ने काम भने राष्ट्रिय परीक्षा बोर्डले नै गर्नेछ ।