देशको अर्थतन्त्रमा सहकारीको महत्वपूर्ण भूमिका : प्रदेश सांसद महतो

साधारण सभालाई सम्बोधन गर्दै प्रदेश सांसद सत्रुधन महतो । तस्वीर : द पब्लिक टुडे

विजय कुमार साह
ढल्केवर, मंसिर ८ गते ।
प्रदेश २ का प्रदेशसभा सदस्य सांसद सत्रुधन महतोले देशको अर्थतन्त्रमा सहकारीको महत्वपूर्ण भूमिका रहेको बताएका छन् ।

[custom-facebook-feed]

धनुषाको मिथिला नगरपालिका ढल्केवरस्थित रहेको नमुना बचत तथा ऋण सहकारी संस्थाको छैठौं साधारण सभालाई उद्घाटन गर्दै उनले विपन्न वर्गलाई आर्थिक रुपले सम्पन्न पनि बनाएको बताए । सहकारी मार्फत समाजलाई नै आर्थिक रुपले सबल बनाइरहेको सभासद महतोले जनाए ।

सभासद महतोले सहकारीले गाउँघरमा साहु महाजनबाट चर्को ब्याजमा ऋण लिने क्रमलाई समाप्त गरिरहेको उल्लेख गरे । यो सहकारीले पनि यस भेगका जनताको आर्थिक उन्नति उकास्न गरेको प्रयासप्रति खुशी प्रकट गर्दै सांसद महतोले आगामी दिनमा चौतर्फी रुपमा लगानी बिस्तार गरेर यहाँका जनतालाई सेवा उपलब्ध गराउन सुझाव दिए ।

कार्यक्रममा बोल्दै मिथिला नगरपालिकाका नगरप्रमुख हरिनारायण महतोले सहकारीले कृषि र पशुपालन क्षेत्रमा पनि लगानी बढाउनु पर्ने धारण रोखेका थिए । उनले कृषि र पशुपालन किसान समृद्ध भए देश समृद्ध हुने भएकाले कृषि र पशुपालन क्षेत्रमा सहकारीहरुले लगानी लगाउने तर्फ उन्मुख हुनुपर्ने बताए । असुली र ऋण लगानीमा सिमित भएका सहकारीलाई नगरपालिकाले कुनै प्रकारको सहयोग उपलब्ध नगराउने उल्लेख गर्दै नगरप्रमुख महतोले सहकारी नाफा मुलक नभई सेवा मुलक हुनपर्नेमा जोड दिए ।

साधारणसभामा संस्थाका अध्यक्ष नारायण प्रसाद बास्तोलाले सामुदायिक सहभागिता तथा सदस्यहरुको आर्थिक, सामाजिक र साँस्कृतिक विकास नै संस्थाको मुख्य उद्देश्य भएको बताए । संस्थाको प्रगतिमा सदस्यहरुको विश्वास र सहयोगका लागि सबैमा आभार व्यक्त समेत गरेका थिए । उनले संस्था सुनौलो भविष्यतर्फ अगाडि बढिरहेकोले सल्लाह, सुझाव र मार्ग दर्शनको खाँचो रहेको जनाए ।

साधारण सभामा संस्थाको गतिबिधि बारे संस्थाका सचिव निर प्रसाद शर्माले प्रतिवेदन प्रस्तुत गरेका थिए भने आर्थिक गतिबिधि बारे संस्थाका कोषध्यक्ष राम बहादुर स्याङ्गदनले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रमको अवसरमा जेष्ठ नागरिक, अपाङ्ग, १७ जना असल दैनिक बचत कर्ता, ७ जना असल मासिक बचतकर्ता, २ जना असल साधारण बचतकर्ता र ५ जना असल ऋणी बचतकर्तालाई सम्मान गरिएको थियो ।

यसैगरी समाजिक दायित्व अन्तर्गत महेन्द्र मावि, राष्ट्रिय आधारभूत विद्यालय केमलीपुर, राष्ट्रिय आधारभूत विद्यालय श्रीपुर, राष्ट्रिय आधारभूत विद्यालय पुष्पवलपुर, जनता राष्ट्रिय आधारभूत विद्यालय ढल्केवर, जनता राष्ट्रिय आधारभूत विद्यालय जमुनिबासका गरी २९ जना छात्रछात्रालाई शैक्षिक सामग्री वितरण गरेका थिए ।

कार्यक्रममा मिथिला नगरपालिकाका नगरउपप्रमुख तारा लामा बस्नेत, जिल्ला बचत संघ धनुषाका धु्रव नारायण यादव, सामुदायिक वन उपभोक्ता महासंघ प्रदेश २ का अध्यक्ष सोमप्रसाद शर्मा, मिथिला नगरपालिका–६ का वडाध्यक्ष भक्त बहादुर बलम्पाकी, वडा नं.–७ का वडाध्यक्ष युवराज उप्रेती, मिनपा सहकारी सञ्जालका अध्यक्ष सत्रुधन साह, डोर बहादुर खड्कालगायतका अतिथीहरुले शुभकामना दिएका थिए ।

सम्वन्धित समाचार