छोरी अभिशाप होइन, बरदान हो : मुख्यमन्त्री राउत

सप्तरी, चैत्र ९ गते । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले छोरी अभिशाप नभई वरदान भएको बताउनुभएको छ ।सप्तरीको कंचनरुप नगरपालिका-१२ रुपनगर श्रावणपुरमा आयोजित पंचकन्या धार्मिक तथा साँस्कृतिक महोत्सवको शनिबार समापन गर्नुहुँदै मुख्यमन्त्री राउतले छोरी अभिशाप नभई वरदान भएको बताउनुभएको हो ।

उहाँले छोरी भनेर हेला गर्ने समय समाप्त भइसकेको बताउनुभयो । ‘छोरी भयो भनेर मन छोटो नगरौं, छोरी अभिशाप होइन’ मुख्यमन्त्री राउतले भन्नुभयाे, ‘छोरीलाई राम्रो शिक्षा दिएमा छोराजस्तै छोरी पनि अगाडि बढेर घर, परिवार र देशलाई सघाउँछन् ।’

प्रदेश सरकारले बेटी पढाऔं, बेटी बचाऔं’ अभियान शुरु गरेको स्मरण गर्नुहुँदै उहाँले प्रदेशमा महिलालाई ५० प्रतिशत आरक्षण दिन सरकारले काम गरिरहेको जानकारी दिनुभयो । उद्योग स्थापना गर्नेलाई २० बर्षसम्म प्रदेशमा कुनै पनि कर तिर्न नपर्ने बताउनुहुँदै उहाँले औद्योगिक क्षेत्रमा बन्द हड्ताल गर्न नपाइने कानुन बनाइने बताउनुभयाे ।