द पब्लिक टुडे समाचारदाता-
बर्दिवास, चैत्र १० गते । महोत्तरी जिल्लामा सडक दुर्घटनामा मानवीय क्षति हुने क्रम बढेको छ । चालु आर्थिक वर्ष २०७५/०७६ को ८ महिनामा सडक दुर्घटनामा ३२ जनाको मृत्यु भइसकेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दिवास, महोत्तरीले जनाएको छ ।
पछिल्लोपटक गत मङ्गलबार राती पूर्वपश्चिम राजमार्गको बर्दिवास नगरपालिका–५ मा पर्ने टुटेश्वर गणन्ता वन क्षेत्रमा सर्लाही जिल्लाको हरिपुर नगरपालिका–७ का २५ बर्षीय राजबीर रायको सडक दुर्घटनामा मृत्यु भएपछि मृतकको संख्या जारी आर्थिक बर्षमा ३२ पुगेको हो । सर्लाहीबाट महोत्तरीको रामनगरस्थित एभरेष्ट चिनी उद्योगमा उखु बोकेर आउँदै गरेको ट्रेक्टरले सोही दिशाबाट आएको बा ७३ प ८१४३ नम्वरको मोटरसाइकललाइ साइड दिने क्रममा ट्रेक्टर पल्टदा रायको उखुको बोझा (मुठा) ले थिच्दा मृत्यु भएको हो ।
यसअघि गत सोमबार रातीपनि सोही ठाउँमा ट्रेक्टर र मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालक धनुषा जिल्लाको मिथिला नगरपालिका–१० का २६ वर्षीय मनोज भट्टराईको मृत्यु भएको थियो । चालु आर्थिक वर्षमा हालसम्म दुर्घटनामा परेका ६८ वटा सवारी साधनमध्ये ३६ वटा मोटरसाइकल परेका र मृतकको संख्या पनि मोटरसाइकलमा सवार नै बढी भएका जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दिवास महोत्तरीका नायब प्रहरी निरीक्षक (प्रनानि) होमबहादुर भित्रीकोटीले जानकारी दिए ।
गतआर्थिक बर्ष २०७४÷०७५ मा भएका ८१ सवारी दुर्घटनाका घटनामा ४४ जनाको मृत्यु भएमध्ये साउनदेखि चैतको पहिलो साताभित्रको अवधीमा २८ जनाको मृत्यु भएको थियो । गतआर्थिक बर्षमा पनि मोटरसाइकल चालक र सवार नै बढी हताहत भएका कार्यालयको घटना अभिलेखमा उल्लेख छ । मृतकमध्ये १६ वर्षदेखि ३० बर्ष उमेर समूहभित्रका धेरै रहेका प्रनानि भित्रीकोटीको भनाइ छ । सवारी दुर्घटना धेरैजसो दिउँसो दुईबजेदेखि साँझ छबजेसम्म बढी हुने गरेका छन् । सडक दुर्घटनामा गतअर्थिक बर्वा २०७४/०७५ मा १ सय ४० जना र अहिले जारी आर्थिक बर्षको हालसम्मको अवधीमा ७० जनागम्भीर प्रकृतिका घाइते छन् ।
जिल्लामा सडक दुर्घटनाका घटना पनि पूर्वपश्चिम राजमार्गको टुटेश्वर गणन्ता वनक्षेत्रमा बढी हुने गरेको छ । बर्षेनी सवारी साधनमा मोटरसाइकलको बढ्दो सङ्ख्या र चालक अल्लारे उमेरका सवारीचालक अनुमति पत्र नै नलिएका युवा पाइएका छन् । चकमन्न वनक्षेत्रमा तिब्र गतिमा सवारी चलाउँदा सो क्षेत्रमा दुर्घटना बढेको ट्राफिक प्रहरी बताउँछन् । तराइमा बिबाहमा मोटरसाइकल दाइजोमा लिनेदिने आम प्रचलन बढ्नु र तिनको प्रयोग सवारी हाँक्न दक्ष नभइसकेका युवाले गरेपछि मानवीय क्षतिमा युवा नै बढी पर्ने गरेका पाइएको छ । खासगरि साँझको समय खानपिनपछि तिब्र गतिमा सवारी साधन हुँइक्याउने गरेकाले दुर्घटना साँझपख बढी हुने गरेको ट्राफिक प्रहरीको निचोड छ ।