निर्मला हत्या प्रकरण : तत्कालिन एसपी विष्टलाई धरौटीमा रिहा गर्न आदेश


कञ्चनपुर, चैत्र १० गते । बलात्कार पछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्या प्रकरणमा यातना दिएको र प्रमाण नष्ट गरेको अभियोग लागेका तत्कालीन एसपी डिल्लीराज विष्टलाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ ।

जिल्ला अदालत कञ्चनपुरले आइतबार तत्कालिन कञ्चनपुर प्रहरी प्रमुख एसपी (एसपी) डिल्लीराज विष्टलाई दश लाख ५० हजार धरौटीमा रिहा गर्न आदेश दिएको हो । जिल्ला अदालत कञ्चनपुरका न्यायधीश डा. राजेन्द्रकुमार आचार्यको एकल इजलासले एसपी विष्टलाई धरौटीमा रिहा गर्न आदेश जारी गरेको जिल्ला अदालतका श्रेष्तेदार हरिकृष्ण अवस्थीले बताउनुभयो ।

उहाँका अनुसार विष्टलाई यातनाविरुद्धको कसुरमा रु ६ लाख र सार्वजनिक न्यायविरुद्धको कसूरमा रु ४ लाख ५० हजार धरौटी सुनाइएको छ । विष्टले गत मंगलबार निवेदनसहित जिल्ला अदालत कञ्चनपुरमा उपस्थित भएका थिए । उनको गएकाे शुक्रबार अदालतमा बयानपछि बहस सकिएको थियो ।

निर्मला पन्त हत्या प्रकरणमा विष्टसहित प्रहरी कर्मचारीविरुद्ध निर्मलाकी आमा दुर्गादेवी पन्तले सार्वजनिक न्यायविरुद्धको कसूर र दिलिपसिंंह विष्टका दाजु खड्क विष्टले यातनाविरुद्धको कसूरमा गएकाे पुस ३ गते उजुरी दिनुभएको थियो । 

यसअघि तत्कालिन एसपी विष्टसहितका ८ जनाविरुद्ध दीलिप सिंह विष्टलाई यातना दिएको र निर्मला हत्या प्रकरणको प्रमाण नष्ट गरेको भन्दै मुद्दा दायर भएको थियो । कञ्चनपुर जिल्ला अदालतले ३० फागुनमा मुद्दामा फैसना सुनाउँदै ६ जना प्रहरीलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

अदालतको आदेशपछि ६ जना ३१ लाख रुपैयाँ धरौटीमा रिहा भइसकेका छन् भने अनुसन्धामा खटिएका सीआईबीका डीएसपी अंगुर जिसी भने अझै सम्पर्कमा आएका छैनन् ।

Scroll to Top