द पब्लिक टुडे समाचारदाता
बर्दिवास, चैत्र १२ गते ।
महोत्तरीको बर्दिबासस्थित रातु खोलामा एक महिनाअघि जन दवावपछि रोकिएको दोहोन फेरी मापदण्ड विपरित उत्खनन् भएपछि स्थानीय आन्दोलित भएका छन् ।
अवैध उत्खनन् नरोकिएपछि बर्दिवास नगरपालिका-६ किसाननगरका बासिन्दाले बस्ती नजिकैको रातु खोलामा बालुवा र ढुङ्गा उत्खनन् गरिरहेका १३ वटा टिपर ओसार्न प्रयोग भएको ११ वटा डोजर मंगलबार विहान नियन्त्रणमा लिएका हुन् । क्रसर सञ्चालकले नदीमा १५-२० फिटसम्मका खाल्डा बनाएर अनियन्त्रित दोहन गरेकाले साधनहरु नियन्त्रणमा लिइएको स्थानीयवासीले जानकारी दिएका छन् ।
बस्ती नजिकको रातु खोलाको तटबन्धको छेउमै ठूलाठूला खाल्डा बनाइएको छ । अब वर्षा हुने भएकोले बस्तीमा बाढी पस्ने र बसोबास नै जोखिमका रहेको स्थानीय मनोज खत्रीले बताए ।
चौलिखा बस्तीका सामाजिक कार्यकर्ता बिन्देश्वर साहका अनुसार किसाननगरकै आसपासमा अहिले ११ भन्दा बढी क्रसर सञ्चालनमा छन् ।
ती क्रसरका यान्त्रिक साधनहरु ९मेसिन, गाडी०ले मध्यरातपछि बिहानसम्म खाल्डा खन्ने र बालुढुङ्गा अन्त पुर्याउन प्रयोग हुने गरेको उनले बताए ।
नदीमा अनियन्त्रित दोहन बढ्दा बस्तीमा तटबन्ध भत्केर बाढी पस्ने खतरा बढेको, नदीमा सुख्खा खाल्डा बढ्दै जाँदा इनार र अन्य जलाधारक्षेत्रका खानेपानीका मुहान सुक्दै गएका कृष्णपुरकै सामाजिक कार्यकर्ता इन्द्रबहादुर शाहीको भनाइ छ ।
स्थानीय बासिन्दाले जिल्लाका प्रशासक, जिल्ला समन्वय समितिका संयोजक र बर्दिवास नगरपालिकाका प्रमुख नआउञ्जेल नियन्त्रणका यन्त्र नछाडिने बताएका छन् ।
यता जिल्ला समन्वय समितिका संयोजक सुरेशप्रसाद सिंहले उत्खनन्को अवस्था अनुगमन गर्न जिल्लाका प्रमुख जिल्ला अधिकारी र स्थानीयतहका जनप्रतिनिधि र भूगर्भविज्ञसहितको टोली पुग्ने बताए ।
मापदण्ड विपरीत उत्खनन् गर्नेलाई कानुनी कारबाही गरिने उनले बताए । जिल्ला समन्वय समिति महोत्तरीले नदी उत्खन्नमा रोक लगाउनुका साथै अबैत्र क्रसरहरु बन्द गराएको थियो ।
जिल्ला समन्वय समितिले गरेको निर्णय बिपरीत स्थानीय प्रशासनको मिलेमतोमा उत्खन्न भैरहेको र रातु खोलामा एक दिन मात्रै उत्खन्न गरेको ३ लाख रुपैयाँ स्थानीय नेताहरुलाई बुझाउने गरेको स्थानीयवासीको आरोप छ ।
यस्तै, सवारी साधन नियन्त्रणमा लिएपछि इलाका प्रहरी कार्यालय बर्दिबासबाट प्रहरी टोले रातु खोला पुगेका छन् । ‘मापदण्ड विपरित खोला खनिएको स्थानीयको गुनासो छ,’ डीएसपी निशान्त थापाले भने ।
यस्तै, बर्दिबास नगरपालिका मेयर विदुर कुमार कार्कीले ठेकेदारले तीन फिटभन्दा गहिरो कुनैपनि हालतमा खन्न नपाउने बताए। उनले भने, ‘मापदण्ड मिच्नेलाई कारवाही हुन्छ।’ अबैध उत्खनन् रोक्ने जिम्मेवारी जिल्ला समन्वय समितिको हो। तर, उसले गरेको अनुगमन प्रभावकारी नभएको स्थानीय बताउँछन्।