एसईई : प्रदेश २ मा परीक्षा अगावै बाहिरियो प्रश्नपत्र, छानबिन गर्न समिति गठन

फाइल फोटो

द पब्लिक टुडे समाचारदाता-
सप्तरी, चैत्र १४ गते ।
सप्तरीमा एसईई परीक्षा अन्तर्गत बिहिवार भएको विज्ञान विषयको प्रश्नपत्र परिक्षा हुनुभन्दा अगावै बाहिरिएको छ । विज्ञान विषयको प्रश्नपत्र परीक्षा अगाडि नै बाहिरिएको सप्तरीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले स्वीकार गरेका छन् ।

आर्थिक चलखेलमा एक दिन अगावै प्रश्नपत्र बाहिरिएको चर्चा चलिरहेकोमा बिहीबार परीक्षार्थीबाटै फेला परेकोे चिटले सो तथ्य पुष्टि भएको हो । प्रश्नपत्रको समूह र प्रश्न नम्बर अनुसार परीक्षार्थीबाट खोसिएको चिटको प्रतिलिपि हुबहु मेल खाएको फेला परेको सशस्त्रका एसपी खेम थापाले बताए ।


प्रश्न नम्बरसहित हुबहु मेल खाएको चिट  भेटिएपछि परीक्षा केन्द्रमा विद्यार्थीसँग सोधपुछ गर्दै सिडिओसहितको अनुगमन टोली।

अनुगमनमा गएको टोलीले चेकजाँच अगावै चिट, गेसपेपर निकाल्न निर्देशन दिएपछि जम्मा भएको दुई बोरा चिटमा पनि प्रश्नपत्रसँग मेल खाएको समूह र नम्बरसहित उल्लेख भएका प्रतिलिपी रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरिक्षक राजेन्द्र विष्टले बताए ।

एसईई परीक्षामा सामेल भएका विद्यालयका प्रमुखले एक दिन अगावै एसईई परीक्षाको प्रश्न पत्र सामाजिक सञ्जालमार्फत एक(अर्कालाई आदान प्रदान गरेको तथ्य पनि फेला परेको छ। बुधबार राति नै परीक्षार्थीका अभिभावकको हात(हातमा प्रश्नपत्र र उत्तरसहितको फ्ल्याप प्रतिलिपी पुगेको र सामाजिक सञ्जालमार्फत सेयर गरेको पाइएको छ ।

बुधबार मात्र मोबाइलबाट उत्तर लेख्न पाउने सुविधा दिएको पाइए पछि २५ थान मोबाइल सिज गरी कमलेश्वरी किशुन झौलाई मावि बनरझुला केन्द्रका एक केन्द्राध्यक्ष, एक सह केन्द्राध्यक्ष र पाँच जना निरीक्षकलाई निष्काशन गरी शिक्षा ऐनअनुसार कारवाही सुरु भएको छ ।

परीक्षा अगावै प्रश्न पत्र बाहिर ल्याउने कार्यमा शिक्षा क्षेत्रका माफिया र परीक्षा केन्द्रमा संलग्न केन्द्राध्यक्ष, विद्यालयका प्रधानाध्यापक, शिक्षकको मिलोमतो रहेको बताइएको छ ।

ठूला विद्यालयको आर्थिक चलखेलमा प्रश्नपत्र बाहिरिएको कुरा एसएलपी मावि पत्थरगाढाका केन्द्राध्यक्ष देबुप्रसाद यादवले जनाए। एसईई परीक्षामा सामेल निजी विद्यालयका सञ्चालकले इन्टरनेट, इमेल, ह्वाट्स एप र इमोमार्फत प्रश्नपत्र आदान-प्रदान गरेको उनको भनाई छ ।

सम्बन्धित पक्षको लापरवाहीका कारण परीक्षा अगावै प्रश्नपत्र बाहिरिएकाले यसबारे माध्यमिक शिक्षा परीक्षा सञ्चालन समन्वय समिति सप्तरीको बैठक अहिले प्रजिअको निवासमा बसिरहेको छ ।

सात विद्यार्थी पक्राउ

यसै क्रममा प्रश्नपत्र अनुसारकै हुबहु उत्तर भएको चिटसहित सातजना परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ । बिहिवार एसएलपी मावि पत्थरगाढामा परीक्षा दिइरहेका सातजना परीक्षार्थी हुबहु उत्तर भएको चिटसहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सो विद्यालयमा ज्ञानज्योति सेकेन्डरी इङ्लिस बोर्डिङ्ग अर्नाहा, जनता मावि कुशहा अर्नाहा, जानकी मोडेल मावि कल्याणपुर, जनता मावि ब्रह्मपुर, जनता मावि बेल्ही चपेना र जनता मावि नर्घोका दुई सय ७५ जना परीक्षार्थी सामेल छन् ।

समुह र प्रश्न नम्बरसहित हुबहु मेल खाएको चिट

हुबहु चिटको फ्ल्यापसहित पक्राउ परेका अन्जुकुमारी मण्डल, राधिका चौधरी, शिवेनकुमार पासवान, विवेक तामाङ्ग, चाँदनीकुमारी मण्डल, सन्जनकुमारी साह र शिवकेश चौधरीलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय ल्याएको छ । उनीहरुको बिहिवारको परीक्षा रद्द गरिएको छ ।

छानबिन गर्न समिति गठन

राष्ट्रिय परीक्षा बोर्डले प्रदेश २ मा विज्ञान विषयको प्रश्नपत्र परिक्षा हुनुभन्दा अगावै बाहिरिएको घटनालाई छानबिन गर्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले प्रदेश २ मा एसईई विज्ञान विषयको प्रश्नपत्र बाहिरिएको घटना छानबिन गर्न चार सदस्यीय समिति गठन गरेको छ ।

बिहीबार बसेको बोर्ड बैठकले परीक्षा बोर्डकी सदस्य प्राध्यापक अमुदा श्रेष्ठको संयोजकत्वमा छानबिन समिति गठन गरेको हो । समितिको सदस्यमा रमाकान्त शर्मा, रमेश मैनाली र रमेश अधिकारी रहेका छन् ।

छानबिन समितिका सदस्य शर्मा शिक्षा विकास तथा समन्वय निर्देशनालय प्रदेश २ का निर्देशक हुन् भने मैनाली शिक्षा विज्ञान तथा प्रविध मन्त्रालयका उपसचिव हुन् । राष्ट्रिय परीक्षा बोर्डका शाखा अधिकृत अधिकारीलाई समितिको सदस्य सचिवको जिम्मेवारी दिइएको छ ।

समितलाई १५ दिनभित्र प्रतिवेदन बुझाउन समय दिइएको परीक्षा नियन्त्रक (कक्षा १०) विष्णु अधिकारीले जानकारी दिए। बोर्ड बैठकले प्रदेश–२ मा बिहीबार सञ्चालन भएको एसईई परीक्षा रद्ध गरेको छ ।

बिहीबारका लागि तयार भएको विज्ञान विषयको प्रश्नपत्र बुधबार नै सार्वजनिक भएको खुलासा भएपछि बोर्डले परीक्षा रद्ध गर्ने निर्णय गरेको हो ।

बिहीबार रद्ध भएको प्रदेश २ को विज्ञान विषयको परीक्षा चैत २२ गते गर्ने निर्णय भएको परीक्षा नियन्त्रक अधिकारीले जानकारी दिए ।

यो पनि

एसईई : प्रदेश २ को बिहीबारको परीक्षा रद्ध

Scroll to Top