जनकपुर बम काण्ड : पूर्व सांसद सञ्जय साहलाई जन्मकैदको फैसला

शैलेन्द्र महतो-
जनकपुरधाम, चैत्र १४ गते ।
जनकपुर बम काण्डका मुख्य ‘योजनाकार’ पूर्वराज्यमन्त्री सञ्जय साहलाई जन्मकैदको फैसला सुनाएको छ । जिल्ला अदालत धनुषाका न्यायाधीश राजेशकुमार कटुवालको इजलासले त्यही घटनामा दोषी ठहर गर्दै पूर्व सांसद साहसहित ७ जनालाई जन्मकैदको फैसला सुनाउनु भएकाे हाे ।

जन्मकैद सजाय पाउनेहरुमा पूर्व मन्त्री साह ’टक्ला’,  अर्जुन सिंह भनिने मुकेश चौधरी, राजन मुक्ति भनिने रञ्जित झा, जयप्रकाश चौधरी, मुकेशकुमार कर्ण, सुरेश कर्ण, रिपेन्द झा रहेको अदालतका श्रेस्तेदार राधाकान्त झाले जानकारी दिनुभयो ।

मिथिला राज्यको माग गर्दै मिथिला राज्य संघर्ष समितिले जनकपुरको रामानन्दचोकमा धर्ना बसेको बेला २०६९ साल वैशाख १८ गते बम विस्फोट भएको थियो ।

जसमा रंगकर्मी रञ्जु झा, झंगरु मण्डल, विमलशरण दास, सुरेश उपाध्याय र दीपेन्द्र दाससहित ५ जनाको ज्यान गएको थियो । यस्तै ३२ जना घाइते भएका थिए ।

संजय साह पहिलो संविधान सभा र दोश्रो संविधानसभा चुनावमा धनुषाबाट निर्वाचित भएका थिए । पहिलो संविधानसभा चुनावमा फोरम नेपालबाट जितेका  साह दोश्रो संविधानसभा चुनावमा तत्कालीन राजेन्द्र महतोको सद्भावना पार्टीबाट विजयी भएका थिए ।

पहिलो संविधानसभा चुनावमा जितेका बेला उनी राज्यमन्त्री समेत बनेका थिए । पछि बम काण्ड घटना भएपछि उनलाई मुख्य योजनाकारको आरोपमा पक्राउ गरी पूर्वपक्षका लागि थुनामा राखिएकाे थियो ।  

उनीमाथि जनकपुरका सञ्चार उद्यमी अरुण सिंघानिया हत्याको मुख्य योजनाकारको अभियोग पनि लागेको छ । पूर्व राज्यमन्त्री साह हाल नख्खु कारागारमा छन्।  

Scroll to Top