काठमाडाैं, चैत्र १५ गते । स्वर्ण पदक विजेता अजित यादव सम्मानित भएका छन् । तेश्रो एसियाली युथ एथ्लेटिक्स च्याम्पिएनसिपमा स्वर्ण पदक विजेता यादवलाई शुक्रबार ललितपुरको पिनाकल एकेडेमीले नगद ५० हजारसहित सम्मान गरेको हो।
शिक्षामन्त्री गिरीराजमणि पोखरेलले यादवलाई सम्मानपत्र र नगद ५० हजारले सम्मान गरेका हुन्। अजित सोही कलेजका कक्षा १२ मा व्यवस्थापन संकाय तर्फका विद्यार्थी हुन्। अजितले हङकङमा सम्पन्न तीन हजार मिटरको दौडमा पहिलो स्थान हात पारेका थिए। एसियाली स्तरमा एथ्लेटिकसमा नेपालले स्वर्ण जितेको यो पहिलो पटक हो।
सम्मान कार्यक्रममा मन्त्री पोखरेलले यादवलाई बधाई दिदैं खेल क्षेत्रमै लाग्न अनुरोध गर्दै थप प्रगतिको लागि कामना गरे। यादवको अध्ययन तथा तालिमका लागि सरकारको तर्फबाट गर्न सकिने सहयोगको बारेमा आफूले पहल गर्ने पोखरेलले आश्वासन दिए।
सोही कार्यक्रममा कलेजले यादवलाई बीबीएससम्मको अध्ययन गर्न र होस्टेलमा समेत निःशुल्क बस्ने व्यवस्था गरेको कलेजका प्राचार्य ऋषि तिवारीले जानकारी दिए।