हावाहुरी पीडितलाई प्रदेश ३ सरकारले १ करोड सहयोग गर्ने

 

मकवानपुर, चैत्र १९ गते । प्रदेश २ स्थित बारा र पर्सामा आइतवार साँझ आएको भीषण हावाहुरीका कारण विपत्तिमा परेका नागरिहरुलाई सहयोग पुग्नेगरी प्रदेश ३ को सरकारले एक करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । प्रदेश ३ को मंगलबार बिहान बसेको मन्त्रिपरिषदको बैठकले छिमेकी प्रदेश २ मा विपत्तिमा परेका नागरिहरुलाई सहयोग पुग्नेगरी एक करोड रुपैयाँ दिने निर्णय गरेको हो ।

प्रदेश नम्बर २ को बारा र पर्सामा हावाहुरीका कारण घरबारविहीन परिवारको आवास निर्माण गर्नका लागि एक करोड रुपैयाँ सहयोग गर्ने निणय गरिएको प्रदेश सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले बताउनुभयो । 

सोमबार मात्रै मुख्यमन्त्री पौडेल, आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमरकटेल, सामाजिक बिकाश मन्त्री युवराज दुलाल हावाहुरीका कारण ध्वस्त भएको बारा र पर्षा जिल्लामा स्थलगत रुपमा निरीक्षण गर्नुभएको थियो । त्यहाँका घाइते उनीहरुका आफन्तसँग समेत विरगन्ज र कलैयाको अस्पतालमा पुगेर भेट गर्नुभएको थियो ।

यस्तै, हावा हुरीका कारण विपत्तिमा परेका बारा र पर्सा जिल्लाका नागरिकका लागि प्रदेश नम्बर ३ का सांसदहरुले पनि सहयोग गर्ने भएका छन् ।

छिमेकी प्रदेशमा विपत्ति पर्दा टुलुटुलु हेरेर बस्न नहुने भन्दै सोमबार प्रदेशसभा बैठकमा सांसदहरुले आवाज उठाएपछि मंगलबार प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठको अध्यक्षतामा बसेको प्रदेश सभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले सबै प्रदेशसभाका सबै सदस्यहरुबाट तीन दिन बराबरको तलब दिने निर्णय गरेको हो ।

Scroll to Top