द पब्लिक टुडे समाचारदाता-
गौशाला, चैत्र १९ गते । वाइसीएल नेपालले हावाहुरी पीडितलाई राहत वितरण गरेको छ । आईतवार साँझ बारा र पर्सामा आएको विनाशकारी हावाहुरीवाट प्रभावित भएकाहरुलाई वाइसीएल नेपाल केन्द्रिय कार्य समिति र प्रदेश २ कार्य समितिको संयुक्त आयोजनामा राहत सामग्री वितरण गरेको हो ।
हावाहुरीबाट प्रभावित भएकाहरुका लागि वाइसीएल नेपालको तर्फबाट संकलन गरिएको राहत सामग्रीहरु नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलवार पीडित परिवारहरुलाई हस्तान्तरण गरेका छन् ।
अध्यक्ष प्रचण्डले हावाहुरीबाट प्रभावित सो क्षेत्रको स्थलगत निरिक्षणको क्रममा बाराको पुरैनिया, भबरलिया, भलुही, खुटुवा प्रसौनीलगायतका गाउँहरुमा वाइसीएलका तर्फबाट संकलन गरिएको १७.५ टन चामल, २ टन दाल, १ टन नुन, १ हजार थान त्रिपाललगायतका खाद्यान्न तथा दैनिक उपभोग्य सामग्रीहरु पीडित परिवारलाई हस्तानतरण गरेका हुन् ।
राहत वितरण तथा हावाहुरी प्रभावित क्षेत्रको निरिक्षणको क्रममा नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री दाहालसंगै उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री मातृका यादव, पूर्व मन्त्री तथा नेकपाका नेता प्रभु साह, वाइसीएल नेपालका केन्द्रिय अध्यक्ष दिप शिखा, प्रदेश २ का संयोजक शंकर महतोलगायतका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
यसैक्रममा नेकपाका अध्यक्ष प्रचण्डले बारा र पर्सामा हावाहुरीका कारण मृत्यु भएकाको परिवारलाई पार्टीका तर्फबाट प्रति परिवार ५ लाख रुपैयाँ दिने घोषणा समेत गरेका छन् । मंगलबार बाराको फेटा गाउँपालिका– ६ बरैनिया पुगेका प्रचण्डले पार्टीले मृतक परिवारलाई ५–५ लाख रुपैयाँ दिने घोषणा गरेका हुन् ।
पूर्व प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष प्रचण्डले प्रदेश २ सरकारले मृतकका परिवारलाई दिने भनिएको तीन लाख राहतमा नेकपा पार्टीका तर्फबाट प्रति परिवार पाँच लाख थप्ने जानकारी दिए । संकटको यस घडीमा सबै नेपाली एक भई सहयोगका लागि अगाडी बढ्न उनले आग्रह गरे ।
उनले हावाहुरीबाट भत्किएका घरहरु सरकारका तर्फबाट निर्माण गरिने बताए । यसअघि हावाहुरीबाट घाईते भई वीरगंजस्थित नेशनल मेडिकल कलेजमा उपचाररत घाइतेहरुको अवस्थाबारे अध्यक्ष प्रचण्डले जानकारी लिएका छन् ।
आइतबार साँझ आएको शक्तिशाली हावाहुरीका कारण बारा र पर्सामा २८ जनाको मृत्यु भइसकेको छ भने ४ सय भन्दा बढि घाइते भएका छन् ।