आइपिएलमा राजस्थानको पहिलो जित, बैंङलोरको चौथो हार

 

गौशाला, चैत २० : इण्डियन प्रिमियर लिग (आईपीएल)9 क्रिकेटमा राजस्थान रोयल्सले पहिलो जित निकालेको छ। गएराति भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ७ विकेटले पराजित गर्दै राजस्थानले पहिलो जित निकालेको हो ।

भारतीय राष्ट्रिय टोलीका कप्तान विराट कोहलीले नेतृत्व गरेको, दक्षिण अफ्रिकी एबीडी भिल्लियर्स, इंग्ल्याण्डका मोइन अली, अष्ट्रेलियाका मार्कस स्टोनिस सम्मिलित रोयल च्यालेन्जर्स बेंग्लोरले इण्डियन प्रिमियर लिगमा लगातार चौथो पराजय ब्यहोरेको छ ।
संसारभरका सुपरस्टार खेलाडीको जमघट भएर पनि बेंग्लोरले अपेक्षित लय भेट्टाउन संघर्षरत देखिन्छ । राष्ट्रिय टोलीबाट प्रभावशाली प्रदर्शन गरिरहेका विराट कोहलीको खस्केको लयले विश्वकपको तयारी गरिरहेको भारतलाई पनि चिन्तामा धकेलिदिएको छ ।

मंगलबार राति बेंग्लोरले राजस्थान रोयल्ससँग ७ विकेटको पराजय ब्यहोर्‍यो । बेंग्लोरले दिएको १५९ रनको लक्ष्य घरेलु टोली राजस्थानले इनिङको १ बल बाँकी छँदा ३ विकेट गुमाएर भेट्टायो ।
राजस्थानका लागि ओपनर कप्तान अजिंक्या राहणे र जस बटलरले पहिलो विकेटका लागि ६० रनको साझेदारी गरे । २२ रनको ब्यक्तिगत स्कोरमा राहणे आउट भएपछि आएका स्टिभ स्मिथसँग मिलेर बटलरले ४४ रनको साझेदारी गरे । बटलर ४३ बलमा ८ चौका र १ छक्काको सहयोगमा ५९ रन हानेर आउट भए । १९औं ओभरको अन्तिम बलमा आउट हुनुअघि स्मिथले ३१ बलमा २ चौका र १ छक्काको साथ ३८ रन बनाए । राहुल त्रिपाठीले २३ बलमा ३ चौका र १ छक्कासहित अविजित ३४ रन बनाए । त्रिपाठीले नै छक्का प्रहार गरी खेल जिताएका थिए । वेन स्टोक्स १ रनमा अविजित रहे ।
बैंग्लोरका युज्भेन्द्र चहलले २ तथा मोहम्मद सिराजले १ विकेट लिए ।
यसअघि सवाई मानसिंह रंगशाला जयपुरमा टस हारेर पहिले ब्याटिङ गरेको बैंग्लोरले निर्धारित ओभरमा ४ विकेट गुमाएर १५८ रनको योगफल तयार पारेको थियो । ओपनिङमा आएका कप्तान विराट कोहलीले २५ बलमा २३ रनमात्र बनाउन सके । तर अर्का ओपनर पार्थिव पटेलले ४१ बलमा ६७ रनको जिम्मेबार पारी खेले । उनले ९ चौका र १ छक्का प्रहार गरे । भिल्लियर्सले १३ रनमात्र बनाउँदा सिमरन हेटमायर १ रनमै आउट भए । मार्कस स्टोनिसले २८ बलमा ३१ र मोहम्मद अलीले ९ बलमा १८ अविजित रन बनाए ।
बलिङतर्फ लेग स्पिनर श्रीयास गोपालले ३ विकेट लिए । उनले ४ ओभरमा मात्र १२ रन खर्चिएका हुन् । कोहली र भिल्लियर्सको विकेट यिनै गोपालले लिएका थिए । आईपीएलमा राजस्थानको यो पहिलो जित हो भने बेंग्लोर अझै जितविहीन छ । बेंग्लोरले यसअघि चेन्नई सुपर किंग्स, सनराइजर्स हैदराबाद र मुम्बई इण्डियन्ससँग पराजय ब्यहोरेको थियो । राजस्थान भने यसअघि किंग्स ११ पञ्जाव, हैदराबाद र चेन्नईसँग पराजित भएको थियो । एजेन्सी

Scroll to Top