जनकपुर-जयनगर रेलवे छिट्टै सञ्चालनमा आउने

फाइल फोटो

जनकपुरधाम, चैत्र २१ गते । जनकपुर–जयनगर रेलवे छिट्टै सञ्चालनमा आउने भारतको पूर्व–मध्य रेलवेका प्रबन्धक आरके जैनले बताएका छन्।

निर्माणाधीन रेलवे संरचना प्राविधिक निरीक्षण गर्न टोलीसहित आएका प्रबन्धक जैनले सञ्चारकर्मीसँग भने, ‘नेपाल सरकारबाट भारतीय रेल मन्त्रालयलाई पत्र प्राप्त भइसकेको छ र रेल सञ्चालनका लागि तीव्र गतिमा अघि बढेकाले अब चाँडै नै रेल सञ्चालनमा आउँछ।’

उनले भने, ‘सरकारले निर्माण गरेको लिक चाँडै नेपाललाई हस्तान्तरण गर्ने तयारी भइरहेको छ भने रेल सञ्चालनको निर्णय नेपाल सरकारले गर्ने हो। नेपालले चाहेका बेला रेल सञ्चालनमा आउनेछ।’

जयनगरदेखि जनकपुरधामको कुर्थासम्म रेलमार्ग निर्माण सकिइसकेको छ। केही हाल्ट र स्टेशनमा केही संरचनाको काम मात्र बाँकी रहेकाले त्यो पनि चाँडै नै सकिने प्रबन्धक जैनले बताए।

उनीसहित इरकोनको प्रोजेक्ट म्यानेजर रवि सहाय, दीपक कुमार, विनोद सिंहलगायतको टोलीले कुर्थादेखि सीमावर्ती जयनगरसम्म रेलमार्ग निर्माणको निरीक्षण गरेका छन्।

भारतको जयनगरदेखि जनकपुरधामको कुर्थासम्म ३५ किलोमिटर रेलमार्गमा रेल सञ्चालन गर्ने तयारी भएको छ। नेपालले रेलको इन्जिन र बोगी खरिदका लागि भारतीय रेलवेलाई पत्राचार गरिसकेको छ।

तर, केही प्राविधिक प्रक्रिया पूरा हुन नसकेकाले नेपाललाई उपलब्ध गराइने रेलका बोगी इन्जनसहित भारत बिहारको सोनपुर स्टेसनमा राखिएको छ। सोनपुरमा अत्याधुनिक यात्रु रेलका बोगी र तीमध्ये एउटा एसी कोच (बोगी) समेत रहने बताइएको छ।

करिब ४५ जना अट्ने एसी कोच रहने र बाँकी सबै साधारण बोगी रहने छन्। रेलले एक पटकमा हजारभन्दा बढी यात्रु ओसार्न सक्ने बताइएको छ। जयनगरदेखि महोत्तरी जिल्लाको बर्दिबाससम्मको ६९ किलोमिटर रेलमार्ग तीन चरणमा निर्माण हुनेछ।

पहिलो चरणमा रेल सञ्चालन भएपछि दोस्रो चरणमा १७ किलोमिटर लामो रेलमार्ग कुर्थादेखि महोत्तरीको भँगहासम्म चलाउने योजना छ।

निर्माणमा ढिलाइ र सरकारले समेत चासो नदेखाउँदा गत मंसिरमै रामजानकी विवाह महोत्सवमा उद्घाटन गरिने भनिएको रेल अहिलेसम्म सञ्चालनमा आएको छैन।

Scroll to Top