विनाशकारी हावाहुरी : ५ करोडभन्दा बढीको अन्नबाली नष्ट

वीरगञ्ज, चैत्र २२ गते । आइतबार साँझ बारामा आएको भुमरीसहितको हावाहुरीले गहुँ तथा अन्न बाली नष्ट गर्दा रु पाँच करोडभन्दा बढीको क्षति भएकोे छ । सो शक्तिशाली भुमरीसहितको हावाहुरीले एक हजार ५०५ बिघामा लगाइएको गहुँ, मसुरो मकै फलफूल तथा तरकारी बाली पूर्णरुपमा क्षति पु¥याएको कृषि ज्ञान केन्द्र बाराले जनाएको छ ।

दुई हजार २३१ बिघा क्षेत्रफलमा लगाएको सो बाली आंशिकरुपमा क्षति हुँदा करीब रु पाँच करोडभन्दा बढीको अन्नबाली नष्ट भएको ज्ञान केन्द्रका प्रमुख जीतेन्द्र यादवले बताउनुभयो ।
हावाहुरीले सबैभन्दा बढी प्रभावित पारेको फेटा गाउँपालिका–१ भलुही, भरवलीया, त्रिवेणी वडा नं ५ गमहरिया वडा नं ६ पुरैनियामा मात्रै करीब ५० बिघाभन्दा बढी क्षेत्रफलमा लगाइएको गहुँ खेती पूर्णरुपमा नष्ट गरेको कृषि अधिकृत रामजीवन ठाकुरले बताउनुभयो ।

फेटाको भलुही, भरवलीया, बलिरामपुर र फूलबरीया, देवताल गाउँपालिकाको रामपुर्वा, तेलकुवाँ र बेनौली, सुवर्ण गाउँपालिकाको प्रशुरामपुर, हर्दिया, जमुनिया र चरमोहना, गढीमाई गाउँपालिकाको तेलकुवा, परवानीपुर गाउँपालिकाको बुनियाद, रामपुर, टोकनी, लिपनीमाल, चैनपुर र बहुवरी, पचरौता गाउँपालिकाको बेनौली र सखुवाटमा करीब ८०० बिघा क्षेत्रफमा लगाइएको गहँुबाली, २०० बिघा क्षेत्रफलमा लगाइएको मसुरो, ३०० बिघा क्षेत्रफलको मकै तथा २०० बिघा क्षेत्रफलको तरकारी तथा फलफूल खेती पूर्णरुपमा क्षति भएको छ ।

हावाहुरीबाट आँपका बोटमा रहेका फल (टिकुला) समेत अत्यधिक मात्रामा झरेकाले सो क्षेत्रका किसान मारमा परेका छन् । किसानले आँपको बोटमा मन्जरी लागेकै बेला व्यापारीलाई बेच्ने गरेकाले हावाहुरीले आँपको बोटमा समेत क्षति पु¥याएकाले व्यापारी घाटामा रहेका किसान जाकिर मियाँको गुनासो छ । सो हावाहुरीबाट बारामा रु ३५ लाखभन्दा बढीको चौपाया, पशुपक्षी मरेको अनुमान गरिएको छ । रासस