विनाशकारी हावाहुरी : मुख्यमन्त्री राहत कोषमा ४ करोड ११ लाख

 

वीरगंज, चैत्र २३ गते । प्रदेश २ सरकारले स्थापना गरेको मुख्यमन्त्री राहत कोषमा शनिवार बिहानसम्म चार करोड बढी रुपैयाँ संकलन भएको छ। गत आइतबार साँझ आएको बिनाशकारी हावा हुण्डरीमा क्षतिग्रस्त बनेका गाउँहरुका प्रभावित बासिन्दाहरुको सयोगका लागि उक्त सहयोग बिभिन्न दाताबाट प्राप्त भएको प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीका स्वकीय सचिव दीपक यादवले बताए ।

मुख्यमन्त्री राहत कोषमा प्रदेश ३, ५ र कर्णालीका सरकारले एक करोड रुपैयाँको दरले सहयोग उपलब्ध गराउने शुनिश्चित भएको छ । अन्य बिभिन्न संघ संस्थाले सहयोग दिने घोषणा गरेका छन् । उनले भने, ‘घोषणा गरिएका सहयोग रकम मुख्यमन्त्री राहत कोषमा आउने क्रम जारी छ । प्रदेश सरकारहरुको सहयोग रकमसँगै अन्य दाताहरुबाट उठेका एक करोड ११ लाख रुपैयाँ भन्दा बढी रकम पनि प्राप्त भएको छ ।

यस अघि शुक्रबार एमबिकेडिया सेवा ट्रष्टले मुख्यमन्त्री गद्दीलाई ११ लाख रुपैयाँ बराबरको चेक सहयोग स्वरुप उपलब्ध गराएको छ। परवानीपुर स्थित ट्रष्टको कार्यालयमा उक्त चेक लिदै मुख्यमन्त्री राउतले हावाहुरी प्रभावितका लागि यथासक्दो छिटो घर बनाउने बताए । नेपाली सेना मार्फत प्रभावितको घर बनाउने संघीय सरकारसँग कुराकानी भइरहेको उनले जानकारी दिए। भत्केका घरहरु पुर्ननिर्माणका सम्बन्धमा सेनासँग गराउँदा उपयुक्त हुने प्रधानमन्त्रीले केपी शर्मा ओलीको भनाई रहेको उनले बताए। मुख्यमन्त्री राहत कोषमा जम्मा भएको रकम समेत पीडितहरुको घर निर्माणका लागि सेनालाई दिइने उनले जनाए।

Scroll to Top