मोदीविरुद्ध उत्रिए ६ सय कलाकार र २ सय लेखक

काठमाडौँ, चैत्र २४ – भारतीय लोकसभाको निर्वाचन नजिकिँदै गर्दा प्रधानमन्त्री नरेन्द्र मोदी विरुद्ध कलाकार तथा लेखक उत्रिएका छन्। सत्तारुढ दल भारतीय जनता पार्टीको विपक्षमा ६ सयभन्दा बढी भारतीय चलचित्रकर्मी र २ सय लेखकहरूले भोट हाल्न सर्वसाधारणलाई आह्वान गरेका छन्।

६ सय चलिचत्रकर्मीले एक पत्र लेखेर भोटमार्फत् नै भाजपा र उसका सहयोगीलाई सत्ताबाहिर पुर‍्याउन आग्रह गरेका हुन्।यसरी आग्रह गर्नेहरूमा अमोल पालेकर, नसिरुद्दिन शाह, गिरीश कर्नाड, एमके रैना र उषा गांगुलीजस्ता चर्चित रंगकर्मी पनि रहेका छन्।

उनीहरूले मोदीको दल भाजपाका कारण देश र संविधान दुवै खतरामा रहेको बताएका छन् । सो पत्रमा लेखिएको छ, ‘आगामी लोकसभाको चुुनाव भारतको इतिहासकै सबैभन्दा गम्भीर चुनाव हो,’ उनीहरूले पत्रमा सरकारले कला क्षेत्रको गला रेटेको आरोपसमेत लगाउँदै भनेका छन्, ‘आज देश खतरामा छ। गीत, नृत्य, हास्य सबै क्षेत्र खतरामा छन्। हाम्रो प्यारो संविधान खतरामा छ।’

उनीहरूले बहस, तर्क वितर्क र विमर्श हुने क्षेत्र सरकारको मुख्य निशाना बनेको आरोप लगाएका छन् । लोकतन्त्रमा सबैभन्दा कमजोरलाई सबैभन्दा बलियो बनाउनुपर्ने भएपनि सरकारले कमजोरी गरेका कारण आफूहरु विरोधमा लागेको उनीहरूको भनाइ छ।

यसैगरी भारतका विभिन्न भाषाका २०० भन्दा धेरै लेखकहरूले मतदाताहरूलाई घृणाको राजनीति विरुद्ध मतदान गर्न आग्रह गरेका छन्। भारतीय लेखकहरूको संगठन इन्डियन राइटर्स फोरमका तर्फबाट जारी यस अपीलमा भनिएको छ, ‘विविध र समान भारतका लागि मतदान गर्नुस्।’

यी लेखकमा गिरीश कर्नाड, अरुन्धती राय, अमिताभ घोष, बाम, नयनतारा सहगल, टीएम कृष्णा, विवेक शानभाग, जीत थायिल, के सच्चिदानन्दन तथा रोमिला थापर छन्।

अपीलमा हस्ताक्षर गर्ने २१० लेखकहरूले भनेका छन्, ‘आगामी लोकसभा चुनावमा देश चौबाटोमा रहेको जस्तो अवस्था छ। हाम्रो संविधानले सबै नागरिकलाई समान अधिकार, खाने स्वतन्त्रता, प्रार्थना गर्ने स्वतन्त्रता, जीवन बाँच्ने स्वतन्त्रता, अभिव्यक्तिको स्वतन्त्रता, तथा असहमति व्यक्त गर्ने स्वतन्त्रता दिएको छ। तर, बितेका केही वर्षमा हामीले देखेका छौं कि नागरिकहरूलाई समुदाय, जाति, लिङ्ग वा क्षेत्रीयताका आधारमा मारपिट वा भेदभाव गरिन्छ वा हत्या पनि गरिन्छ।’

जसले सत्ताको बारेमा प्रश्न गर्छ उसलाई प्रताडित गरिएको भन्दै उनीहरुले महिला, दलित, आदिवासी र अल्पसंख्यकमाथि हुने हिंसाका विरुद्धमा कदम उठाउन जरुरी भएको बताएका छन्।

त्यस्तै उनीहरुले घृणाका विरुद्ध मतदान गर्नु पहिलो महत्वपूर्ण कदम बताएका छन्। उनीहरुको अपील छ, ‘जनतालाई विभक्त गर्ने राजनीतिका विरुद्ध मतदान गर्नुस्। असमानताका विरुद्ध मतदान गर्नुस्। उत्पीडन र सेन्सरसिपका विरुद्ध मतदान गर्नुस्।’ -एजेन्सी