तराईमा फेरी हुरीको बितण्डता : रौतहटमा एक महिलाको मृत्यु

बारा, चैत्र २६ गते । बारा र पर्सामा २७ जनाको ज्यान जाने गरी हावाहुरी आएको २ साता नपुग्दै तराईको विभिन्न भागमा मंगलबार बिहान पुनः असिना पानीसहित हुरी आएको छ । हुरीले एसईईका साथै जनजीवन प्रभावित भएको छ । असिना–पानीसहित आधा घण्टासम्म आएको हावाहुरीले सिमरा उपमहानगरपालिका सबैभन्दा बढी प्रभावित भएको छ ।

करैयामाई गाउँपालिकामा अवस्थित नेपाल प्रहरीको अस्थायी प्रहरी पोस्ट, मधुवनको छानो उडाएको छ । छानो उडाउँदा प्रहरी प्रभावित भएका छन् । हुरीले उपमहानगरपालिकाको गहुँ, मकै, तरकारीलगायत बालीमा क्षति पुर्याउनुका साथै सिमरा एफएमको टावरसमेत उडाएको छ । कतिपय स्थानमा हुरीले रुख समेत ढालिदिएको छ । घरको छतमा राखिएका सोलार प्यानल पनि हुरीले उडाएको छ ।

आँधीपीडित भएर त्रिपालमुनि बस्दै आएका परिवार झन् समस्यामा परेका छन्। फेटा, सुवर्ण, देवताल गाउँपालिका र महागढीमाई नगरपालिकामा आँधी पीडितको त्रिपालमा वर्षा र हुरीले क्षति पुर्‍याएको छ। खाना पकाउने बेलामा असिनासँगैको हावाहुरी र पानी परेकाले खाना पकाउन समेत समस्या भएको छ। राहत वितरणको काम पनि अवरुद्ध भएको छ।

हुरीले एसईई परीक्षा पनि प्रभावित भएको प्रहरीले जनाएको छ । सिमरा क्षेत्रका सुपरिटेन्डेन्ट शंकर आचार्यले भने, ‘आधा घण्टासम्म आएको असिनापानी र हुरीले विद्यार्थीहरुले लेख्नै सकेनन् । त्यसैले थप समय उपलब्ध गराउने निर्णय भएको छ।’

यसअघि बाराको फेटा गाउँपालिकालगायत स्थानमा हावाहुरी जाँदा २७ जनाको ज्यान गएको थियो । पर्सा पनि हावाहुरीको चपेटामा परेको थियो । यी स्थानका प्रभावितलाई टहरामा राखिएको छ । त्यहाँको अवस्थाबारे भने जानकारी प्राप्त नभएको प्रहरीले जनाएको छ ।

रौतहटमा एक महिलाको मृत्यु

रौतहटको देवाही गोनाही नगरपालिका ३ देवाहिटोलमा आएको हावाहुरीबाट एक महिलाको मृत्यु भएको छ ।

मंगलबार बिहान आएको हावाहुरीमा धनेशराम चमारकी श्रीमती ६६ वर्षीया रमसखरीया देवीरामको  मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी निरिक्षक बन्द्री पौडेलका अनुसार घरको उडाएको घरको टाली खसेर उनको मृत्यु भएको थियो ।

हावाहुरीसँगै आएको असिना पानीले स्थानीयका घरहरुका छाना उडेका छन् भने रुखहरु ढलेका छन् । त्यस्तै, विद्युत्का पोलहरु ढलेको प्रहरीले जानकारी दिएको छ ।