काठमाडौं, चैत २६ – राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले एकताका लागि वार्ता समिति गठन गरेको जानकारी संघीय समाजवादी फोरम नेपाललाई गराएको छ । मंगलवार बसेको राजपा नेपालको अध्यक्षमण्डलको बैठकले फोरम नेपाललाई पत्र पठाएको छ ।
फोरम नेपालले चैत ६ गते राजपा नेपाललाई वार्ताका लागि वतावरण बनाउन पत्र पठाएको थियो । त्यसको जवाफमा राजपा नेपालका अध्यक्षमण्डलका संयोजक शरतसिंह भण्डारीले फोरम नेपालको पत्रले एकतालाई महत्व दिएको बुझ्न सकिन्छ र त्यसका लागि धन्यवाद दिएका छन् ।
सत्तापक्ष र प्रतिपक्ष बीच एकीकरण सम्बन्धमा आपसी सहमति र समझदारीकै आधारमा यस्ता विषयहरु हल गर्न सकिने सकारात्मक कुरा पत्रमा उल्लेख रहेको र त्यसका लागि थप वार्ता र संवाद गर्न सकिने भनि भण्डारीले पठाएको पत्रका वार्ताका लागि अध्यक्षक्ष मण्डलका सदस्य राजेन्द्र महतोको संयोजकत्वमा वार्ता समिति गठन गरेको जानकारी पनि गराएको छ ।
अहिलेसम्म यी दुई दलको बीचमा पत्र मात्र आदान प्रदान भइरहेको छ । दुवै दलबाट दुई–दुईटा पत्र अदान प्रदान भएको छ तर हालसम्म वार्ताका लागि औपचारिक बैठक बसेको छैन ।