चिकित्सक आन्दोलन : प्रहरी परिचालन गरी वीरमा ओपीडी टिकट वितरण

 

काठमाडौं, चैत्र २७ गते । वीर अस्पताल प्रशासनले प्रहरी परिचालन गरि ओपीडी टिकट वितरण गरेको छ । समायोजनप्रति असन्तुष्टि जनाउँदै आएका सरकारी चिकित्सकका कारण सेवा ठप्प रहेको वीर अस्पतालमा प्रहरी परिचालन गरी बुधबार बहिरंग विभाग (ओपिडि)को टिकट वितरण गरिएको हो ।

उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवको निर्देशनमा प्रहरी परिचालन गरी सेवा सूचारु गरिएको हो ।सरकारी चिकित्सक संघ (गोदान)को आव्हानमा सरकारी चिकित्सक आन्दोलनमा उत्रिएका कारण शुक्रबारदेखि आकस्मिक बाहेकका सेवा बन्द रहेको थियो।अस्पताल विकास समितिबाट अस्पतालमा नियुक्ति पाएका चिकित्सकले अस्पताल परिसरमै सेवा सूचारु गरेका छन्। 

वीर अस्पतालका निर्देशक डा. केदार सेन्चुरीले ओपिडिको टिकट वितरण गरी सेवा सूचारु गरिएको जानकारी दिए । डा. सेन्चुरीकाअनुसार ३ सय बिरामीले टिकट काटेर सेवा लिइरहेका छन् ।

सरकारी चिकित्सकहरुले आफुहरुलाई समायोजन गर्दा संघ अन्तर्गत नै राख्नुपर्ने मुख्य माग अघि सारेका छन् ।

यसैबीच संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकारी चिकित्सकहरुका माग जायज नभएको बताएका छन् । उनले संविधानअनुसार चिकित्सकहरुको समायोजन गर्न लागिएको भन्दै उनीहरुका मागप्रति सरकारले वार्ता गर्न जरुरी नभएको प्रस्ट पारेका छन् ।

यता, मन्त्री पण्डितले चिकित्सकहरुले अटेर गरेर सेवा अवरुद्ध गरिरहे सरकार कारवाही गर्न बाध्य हुने चेतावनी दिएका छन् ।

उता डाक्टरहरु भने आफ्ना माग पुरा नभए सामुहिक राजीनामा बुझाउने भन्दै राजीनामा संकलन गर्न थालेका छन् ।

Scroll to Top