द पब्लिक टुडे समाचारदाता
गौशाला, चैत्र २८ गते : महोत्तरी जिल्लामा छुट्टाछुट्टै स्थानबाट लाखौको चोरी भएको छ । मंगलवार राती जिल्लाको भंगहा नगरपालिका–७ स्थित जीतेन्द्र साहले सञ्चालन गरेको श्री हनुमान ज्वेलर्सबाट ११ लाखको गरगहना चोरी भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जनाएका छन् ।
चोरले सो ज्वेलर्समा लगाइएको ताल्चा काटेर फलामको रडको सहयोगमा पसलको सटर बाङ्गो पारेर पसलमा रहेको ६ लाख पर्ने सुनको विभिन्न गरगहना १० तोला र ४ लाखको सात किलो चाँदी गरी ११ लाखको चोरी गरेको छ ।
त्यस्तै मंगलवार राति नै जिल्लाको लोहारपट्टी नगरपालिका–७ भ्रमरपुरामा एक समूहले स्थानीयवासी लक्ष्मीनारायण शर्माको घरको छतबाट घरभित्र पसी लाखौँको चोरी गरेका छन् ।
चोरहरूले शर्माको घरबाट ६ लाख पर्ने सुनका गरगहना १० तोला, ३५ तोला चाँदी विभिन्न सामान र दराजभित्र रहेको नगद ३५ हजार तथा अन्य सामान चोरी गरी लगेको समाचार आजको द पब्लिक टुडे दैनिकमा छ ।