जनकपुर पुगेर मन्त्री बास्कोटाले भने, ‘राजपाको आन्दोलनको औचित्य छैन’

जनकपुरधाम, चैत्र २८ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजपा नेपालले थालेको आन्दोलनको औचित्य नरहेको बताएका छन् ।

बिहीबार जनकपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै मन्त्री बास्कोटाले सरकार समस्या समाधाननका लागि वार्ता गर्न तयार रहेको बताए । उनले वार्ताको माध्यमबाट समस्याको समाधान खोज्न राजपासँग आग्रह गरे ।

केवल आन्दोलनको लागि मात्रै आन्दोलन गर्ने हो भने त्यसको औचित्य नरहेको भन्दै उनले राजपाको अधिकांश मागहरु अदालतसंग आवद्ध रहेकाले सरकारले शक्ति पृथकीकरणको विरुद्धमा जान नसक्ने बताए ।

मन्त्री बास्कोटाले संघीयता कार्यान्वयनको लागि सरकार इमान्दार रहेको बताउदै तीनवटै सरकार बीचमा समन्वयको आवश्यकता रहेकोमा जोड् दिए ।

उनले अहिले देखिएको नागरिकताको विवादको विषयमा धेरै चर्चाको विषय बनाउनु ठीक नभएको बताए । सरकारले कुनै पनि नागरिकलाई अनागरिक बनाउन नचाहेको बताउँदै उनले नागरिकतासम्बन्धी कानुनहरुको निर्माण भएपछि नागरिकता समस्याको आफै समाधान हुने बताए ।

Scroll to Top