जनकपुरमा चैती छठको रौनक (फोटोफिचर)

File Photo

जनकपुरधाम, चैत्र २८ गते । मिथिलामा आज चैती छठपर्व धुमधामसँग मनाईदैँछ । ४ दिनसम्म मनाइने चैते छठ पर्वको आज साँझ अस्ताउँदो सुर्यको अर्घ दिइएको छ । भोली विहान उदाउँदो सुर्यको अर्घ दिएपछि छठ पर्वको समापन हुन्छ ।

अहिले जनकपुरको गंगासागर, अंर्गजा सागर, धनुष सागरसहितका विभिन्न जलाशयहरुमा चैते छठ पर्व हेर्ने दर्शनार्थीहरुको घुईंचो लागेको छ ।

कात्तिकमा मनाईने छठ पर्व जतिको संख्यामा श्रद्धालु भक्तजनहरु नभएपनि बिस्तारै चैते छठ पर्व मनाउनेहरुको संख्या बढ्दै गएको छ । ४ दिनसम्म मनाईने यस पर्वको पहिलो दिन नुहाएर चोखो खाने चलन छ भने पञ्चमीका दिन खरना पर्व मनाईन्छ ।

खरनाको अवसरमा ब्रतालुहरुले निराहार उपवास बसी साँझपख खष्ठी देवीलाई प्रसाद चढाई खाने गर्दछन् । प्रसादमा खिर ,केरा, दुध एवम् विभिन्न प्रकारको फलफुल चढाइने गरिन्छ ।

पर्वको तेस्रो दिन अस्ताउँदो सुर्यलाई अर्घ दिने ब्रतालुहरुले साँझ सुर्य अस्ताउने प्रतिक्षा गर्दछन् । त्यस क्रममा सूर्य अस्ताउनु एक घण्टा पूर्वदेखि नै ब्रतालुहरु पोखरीमा प्रवेश गरि खष्ठीमाताको ध्यान गर्दै सुर्य देवलाई अर्घ दिने गर्दछन् ।

अर्घमा मुला, उखु, भण्टा, ठकुवा, भुसवा, केरा, नरिवललागायतका सामग्रीहरु चढाउने गरिन्छ । सन्ध्या अर्घ पश्चात रातभरि ब्रतालुहरु जागरण बसि भोलीपल्ट चैत शुक्ल सप्तमी तिथिका दिन उदाउँदो सुर्यलाई अर्घ दिई पर्वको समापन गर्ने चलन छ ।

चैती छठ पर्व गर्नाले चिताएको मनोकामना पुरा हुने तथा चर्म रोग निको हुने र मानसिक प्रसन्नता प्राप्त हुने जनविश्वास रहि आएको छ ।

धार्मिक आस्था, विश्वास तथा सद्भावको रुपमा मनाइने यो पर्व केही वर्ष पूर्वसम्म मारवाडी समुदायका केही व्यक्तिहरुले मात्र मनाउने गर्दथे । तर वर्षेनी यो पर्व मनाउनेहरुको संख्यामा वृद्धि भइरहेको छ ।

तस्विरहरू : सुरेन्द्र सिंह कुशवाहा

Scroll to Top