‘मदमस्त हात्ती’ जस्तो भारतीय चुनावमा त्यस्तो विशेष के हुन्छ ?

 

सौतिक विस्वास/बीबीसी, चैत्र २९ गते । बिहिबार भारतको आम चुनावको पहिलो चरणमा करोडौं मतदाताले भोट हाले । नयाँ लोकसभा अर्थात् संसदको तल्लो सदनका लागि मतदानको प्रक्रिया ११ अप्रिलदेखि सुरु भएर १० मेसम्म चल्नेछ । भोटको गन्ती २३ मेदेखि सुरु हुनेछ ।

भारतमा ९० करोड मतदाता छन् । त्यसकारण भारतमा भइरहेको चुनाव संसारको सबैभन्दा ठूलो चुनाव हो । प्रधानमन्त्री नरेन्द्र मोदीको सत्ताधारी भारतीय जनता पार्टीको प्रतिस्पर्धा मुख्य विपक्षी दल कांग्रेस र विभिन्न क्षेत्रीय पार्टीसँग हुनेछ ।

चुनावमा महत्वपूर्ण भूमिका निभाउने भारतको सबैभन्दा धेरै जनसंख्या भएको राज्य उत्तर प्रदेशका दुई शक्तिशाली प्रतिद्वन्द्वी पार्टीले भारतीय जनता पार्टीविरुद्ध राज्यमा गठबन्धन गरेको छ ।

लोकसभाको ५४३ सिटमा मतदान हुन्छ र सरकार बनाउनका लागि कुनै पनि पार्टीलाई कम्तीमा २७२ सांसदको आवश्यकता हुन्छ ।

त्यसो भए यो चुनावलाई कुन कुराले विशेष बनाएको छ ?

१. भारतीय चुनावमा सबैकुरा ‘विशाल’ हुन्छ

भारतको आम चुनावसँग जोडिएका हरेक कुरा निकै ठूलो हुन्छ । इकोनमिस्ट पत्रिकाले एकपटक यसको तुलना ‘मदमस्त हात्ती’ सँग गरेको थियो जो एक लामो दुर्गम यात्रातर्फ अघि बढिरहेको उक्त पत्रिकाले बताएको छ ।

यसपटक १८ वर्ष र सोभन्दा माथिका उमेर भएका ९० करोड जनताले लाखौं बुथमा आफ्नो मताधिकारको प्रयोग गर्नेछन् ।मतदाताको यो संख्या यूरोप र अष्ट्रेलियाको कूल जनसंख्याभन्दा पनि धेरै छ ।

Advertisement

भारतीय जनता उत्साही मतदाता हुन् । सन् २०१४ मा भएको पछिल्लो आम चुनावमा ६६ प्रतिशत मतदान भएको थियो । पहिलो पटक सन् १९५१ मा भएको चुनावमा ४५ प्रतिशत मत खसेको थियो ।

सन् २०१४ मा ४ सय ६४ पार्टीका ८ हजार २ सय ५० बढी उम्मेद्वारले भाग लिएका थिए । पहिलो आम निर्वाचनको तुलनामा यो संख्या सात गुणा बढी थियो ।

२. यसमा धेरै समय लाग्छः

११ अप्रिलमा पहिलो चरणको मतदान भइसकेको छ र अब अप्रिल १८, २३, २९ र मे ६ र १९ मा मतदान गरिनेछ । विभिन्न राज्यमा विभिन्न चरणमा भोट हालिँदैछ ।

सन् १९५१–५२ मा भएको भारतको पहिलो ऐतिहासिक चुनाव पूरा हुन तीन महिना लागेको थियो । सन् १९६२ देखि सन् १९८९ सम्म चुनाव चारदेखि १० दिनको बीचमा सम्पन्न गरियो । सन् १९८० मा चार दिनमा  सम्पन्न भएको चुनाव देशको इतिहासको सबैभन्दा कम अवधिमा पूरा भएको चुनाव हो ।

भारतमा चुनावी प्रक्रिया निकै लामो हुन्छ किनभने बुथको सुरक्षाको प्रबन्ध मिलाउनु पर्छ ।

स्थानीय पुलिसले थुप्रै पटक राजीनितक झुकाव देखाएको हेर्न सकिन्छ । यस्तोमा केन्द्रीय बल तैनाथ गरिन्छ । यी बललाई देशभरीका विभिन्न स्थानमा पठाइन्छ ।

३. खर्च पनि अत्यधिक हुन्छः

भारतको सेन्टर फर मिडिया स्टडीजका अनुमान अनुसार पार्टी र उनका उम्मेद्वारले सन् २०१४ को चुनावमा पाँच बिलियन डलर अर्थात् ५ खर्ब ५२ अर्ब रुपैयाँ खर्च गरेका थिए ।

अमेरिकास्थित थिंक ट्यांक ‘कार्नेज एन्डोमेन्ट फर इन्टरनेशनल पीस’ का साउथ एशिया प्रोग्रामका निर्देशक एवं वरिष्ठ अधिकारी मिलन श्रीवास्तव भन्छन्, ‘यस वर्ष यो खर्च दोब्बर हुन्छ भन्दा फरक नपर्ला ।’

भारतमा राजीनितक दललाई आफ्नो आय विवरण सार्वजनिक गर्न लगाइन्छ तर उनीहरुको फन्डिङको विषयमा पारदर्शिता छैन ।

गतवर्ष मोदी सरकारले इलेक्टोरल बन्ड जारी गरेको थियो जसमार्फत् उद्योग र व्यापारी र सर्वसाधारणले आफ्नो पहिचान नबताइकनै चन्दा दिन सक्छन् ।

यो बन्डमार्फत् १ सय ५० मिलियन डलर अर्थात् करिब १० अर्ब ३५ करोड भारु दान गरिसकिएको छ र रिपोर्टका अनुसार यीमध्ये धेरै रकम बीजेपीले पाएको छ ।

४. महिलाको हातमा सत्ताको चाबी ?

भारतमा महिला पनि सक्रिय रुपमा मतदान गरिरहेका छन् । यो पहिलो मतदान हो जसमा पुरुषको तुलनामा महिलाको संख्या बढी छ ।

Advertisement

महिला र पुरुष मतदाताबीचको खाल्डो त सन् २०१४ मा नै पुरिएको थियो जब महिला मतदाताको प्रतिशत ६५.३ प्रतिशत थियो भने पुरुषको ६७.१ प्रतिशत थियो ।

सन् २०१२ देखि २०१८ को बीच दुई दर्जनबढी स्थानीय चुनावमा दुई तिहाई बढी राज्यमा पुरुषको तुलनामा महिला मतदाताको मतदान प्रतिशत धेरै रह्यो ।

राजनीतिक दलले महिलाको महत्व बुझेको छ र उनीहरुलाई अत्यधिक ‘प्रलोभन’ दिन सुरु गरेका छन् – शिक्षाका लागि ऋण, निःशुल्क ग्यास सिलिन्डर र किशोरीहरुलाई साइकल ।

५. सबैकुरा मोदीमा केन्द्रीतः

सन् २०१४ मा मोदीले बीजेपी र यसका सहयोगीलाई ऐतिहासिक जीत दिलाएका थिए ।

बीजेपीले जुन ४२८ सिटमा चुनाव लडेका थिए तीमध्ये २८२ सिट जितेको थियो । स्न १९८४ पछि कुनै पार्टीले आम निर्वाचनमा एक्लै पूर्ण बहुमत हाँसिल गरेको यो पहिलो घटना थियो ।

यसको सबैभन्दा ठूलो श्रेय भ्रष्टाचार मुक्त ‘अच्छे दिन’ ल्याउने बचन दिने नरेन्द्र मोदीलाई दिइयो जसभित्र आफैं निर्णय लिने र मेहनती नेताको रुपमा प्रचारित गर्ने क्षमता थियो ।

आफ्नो बचनलाई पूरा गर्न राम्रो प्रदर्शन गर्न नसकेपनि मोदी आफ्नो पार्टीका लागि भोट तान्ने मुख्य अनुहार हुन् । उनलाई पार्टीभित्रको अनुशासित मशीनरीको समर्थन पनि हासिल छ जसलाई उनका विश्वासपात्र र शक्तिशाली सहयोगी अमित शाह चलाउँछन् ।

विश्लेषकका अनुसार यो वर्षको आम निर्वाचन एक प्रकारले नरेन्द्र मोदीका लागि जनमतसंग्रह हो ।

विपक्षको अभियान पूर्ण रुपमा प्रधानमन्त्रीलाई निशानामा ल्याउनका लागि केन्द्रीत हुनेछ जो ध्रुवीकरण गर्ने यस्ता नेता हुन् जसका प्रशंसक पनि छन् र आलोचक पनि ।

संसदीय चुनावमा राष्ट्रपति चुनाव जस्तो प्रतिस्पर्धा भइरहेको मानिएको छ । भोटको गन्तीपछि मोदी टिकाउ ब्रान्ड हुने नहुने कुरा निश्चित हुनेछ ।

६. भारतको पुरातन पार्टी फिर्ता हुने आशाः

के एक सय ३३ वर्ष पुरानो कांग्रेस पार्टी रसातलबाट बाहिर निस्कन सक्छ ?

सन् २०१४ मा पार्टीको आम निर्वाचनमा आफ्नो सबैभन्दा नराम्रो हारको सामना गर्नुपर्यो । यसको सिटको संख्या पछिल्लो चुनाव (सन् २००९) को २०६ सिटको तुलनामा ४४ मा सिमित भएको छ । यसलाई २० प्रतिशतभन्दा कम मतदाताले भोट दिए ।

अर्को चार वर्षसम्म पार्टीले राज्यको चुनाव लगातार  हारिरह्यो र यसको स्थिती पातलो नै रह्यो । सन् २०१८ को मध्यसम्म कांग्रेस र यसका सहयोगी दल तीन राज्यमा मात्र सरकार चलाइरहेको थियो जबकी बीजेपी सरकार २० राज्यमा थियो ।

पार्टी लगातार ऊँधो गती लागिरह्यो । यसका नेता राहुल गान्धी जो चर्चित नेहरु–गान्धी परिवारका चौथो पीढि हुन्, सोसल मिडियामा हाँसोको पात्र बनेका थिए ।

तर डिसेम्बरमा पार्टीमा नयाँ उत्साह देखियो ।

पहिलेको भन्दा धेरै आश्वस्त र ऊर्जावान् राहुल गान्धीको नेतृत्वमा कांग्रेसले उत्तर भारतको तीन राज्यमा सरकार बनाउन सफलता हाँसिल गर्यो ।

धेरैले यसको कारण सत्ता विरोधी लहर बताए किनभने तीनमध्ये दुई राज्यमा त बीजेपी थुप्रै वर्षसम्म राज गरिरहेको थियो । तर राहुल गान्धी र उनको पार्टीका कार्यकर्ताबाट श्रेय  खोसिन सकिँदैन ।

यो स्पष्ट हो कि कांग्रेस आफ्नो पुरानो जादुसहित फिर्ता भएको छ । राहुल गान्धीले मोदीको अगाडि आफूलाई एक खुल्ला र समावेशी नेताको रुपमा पेश गरेका छन् । अचम्मित गरिदिने निर्णय अनुसार उनकी बहिनी प्रियंका गान्धी पार्टीमा अधिकारिक रुपमा प्रवेश हुनुले पार्टीको प्रचार अभियानमा नयाँ जीवन दिएको छ ।

कांग्रेस यसरी पुनः उठ्नु छरिएका विपक्षमा पनि उत्साह छाएको छ । यसले सन् २०१९ को प्रतिस्पर्धा पहिलेको अनुमानभन्दा थप कडा बनाएको छ ।

७. राष्ट्रबादले बदल्न सक्छ खेलः

आलोचकका अनुसार मोदीको राष्ट्रवादको प्रदर्शन र उनको पार्टीको बहुसंख्यक राजनीतिका कारण भारत गहिरो विभाजन भएको अशान्त देशमा परिवर्तन भएको छ ।

यद्यपि, उनको समर्थकका अनुसार मोदीले आफ्नो आधार बलियो बनाएका छन् र त्यसमा ऊर्जा भरेका छन् । राजनीतिक हिन्दुत्वको विषयमा लज्जा हुनुपर्न आवश्यक नभएको उनीहरु ठान्छन् किनभने भारत ‘एक प्रकारको हिन्दुहरुको राष्ट्र नै त हो ।’

Advertisement

दुर्भाग्यले राष्ट्रवादको अति प्रचारले कट्टरपन्थी दक्षिणपन्थी समूहलाई गाइको तस्करी गरेको आशंकामा मुस्लिमको लिचिङ (कुटीकुटी हत्या) गर्नका लागि प्रोत्साहित गरेको छ ।

हिन्दुले गाइलाई पवित्र मान्छन् । पशुवध विरोधी कानूनलाई कडाईका साथ लागू गरेका कारण गाई पनि ध्रुवीकरण गर्ने पुश बनेको छ । कट्टरपन्थी हिन्दुवादका आलोचकलाई देशद्रोही बताइँदैछ ।

भारतका १७ करोड मुसलमान ‘अदृश्य’ अल्पसंख्यक भएको धेरैले बताउने गरेका छन् । तल्लो सदनमा बीजेपीका कोही सांसद मुसलमान छैनन् । २०१४ मा यसले सात मुस्लिम उम्मेद्वार मैदानमा उतारेको थियो तर सबैजना हारेका थिए । एजेन्सी


Scroll to Top