प्रविधि मैत्री बन्दै बर्दिवास नगरपालिका

द पब्लिक टुडे समाचारदाता–
बर्दिवास, बैशाख १ गते ।
महोत्तरी जिल्लामा मोबाइल एप्लिकेशन (एप्स) सेवा शुरु गर्ने बर्दिवास नगरपालिका पहिलो स्थानीयतह बनेको छ । जिल्लाका १० नगरपालिका र पाँच गाउँपालिकासहित १५ स्थानीयतहमा आफ्ना गतिबिधि एप्सबाट दिन थाल्ने बर्दिवास पहिलो स्थानीयतह बनेको हो ।

बर्दिवास नगर कार्यपालिकाको कार्यालयले आफूलाइ पछिल्लो सूचना प्रविधिसँग जोडेपछि आफ्नो नगरपालिकाले के गर्दैछ भन्ने मोवाइलबाटै जानकारी पाइन थालिएको यहाँका सचेत युवाले बताएका छन् । “नगरपालिकाले प्रविधिमैत्री काम शुरु गरेछ” बर्दिवास–४ माइस्थानस्थित कामीडाँडा माध्यमिक विद्यालयका गणित शिक्षक २९ वर्षीय निर्मल काफ्लेले भने, “यसले मोवाइलमा एप्स चलाउने सिप हुनेले अब घरमै नगरपालिकाका गतिबिधि बुझ्न सक्ने भएका छन् ।”

काफ्लेजस्तै पछिल्ला सूचना प्रविधिसम्बन्धी जानकारी लिने जिज्ञासा भएका युवा र प्रौढ पुस्ताले पनि घर बसेरै नगरपालिकाका गतिबिधि बुझ्न पाउने भएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँगको समन्वयमा एप्स सञ्चालनमा ल्याइएको नगर कार्यपालिकाको कार्यालयले जनाएको छ ।

एप्समा अहिले प्रारम्भिक चरणमा ब्यक्तिगत घटना विवरण (जन्म, मृत्यु, बिबाह, बसाइ÷सराइ र सम्बन्धबिच्छेदसहितका घटना), नगरसभाबाट पारित भएका योजना तथा काम थालिएका योजना, कामको प्रगति विवरण र १४ वटै वडा कार्यालयहरुको गतिविधि समेटिएको कार्यालयका प्रमुख प्रशासकीय अधिकृत कविराज उप्रेतिले जानकारी दिए ।

Advertisement

बर्दिवासका बासिन्दाले अब घरमै बसेर एन्ड्रोइट मोबाइलबाट ‘बर्दिवास नगरपालिका’ नाउँको एप्स डाउनलोड गरेर कार्यालयबाट प्रवाह हुने सेवा, नागरिक वडापत्र, कार्यालयसम्बन्धी सूचना र नगरभित्रका महत्वपूर्ण धार्मिक एवम् पर्यटकीयस्थानबारे जानकारी पाउनेछन् । त्यसैगरि वडागत विकास सूचाङ्क, कर्मचारी र जनप्रतिनिधिहरुको विवरणसमेत यसमा समेटिएको प्रमुख प्रशासकीय अधिकृत उप्रेतिले बताए ।

यसका अतिरिक्त नगरभित्रका आपत्कालीन टेलिफोन नम्बरहरु, ऐन कानुन र स्थानीयतहसम्बन्धी जानकारीमूलक प्रश्नोत्तरसमेत राखिएको कार्यालयले जनाएको छ । मोबाइल एप्समार्फत नगरपालिकाको कार्यालयसम्बन्धी जनगुनासो र सुझाव पनि लिन दिन सकिने ब्यवस्था मिलाइएको छ ।

कार्यालयले शुरु गरेको यो कामबाट कामहरु पारदर्शि हुने र अभिलेखीय प्रणाली दुरुस्त राख्न सजिलो हुने नगरप्रमुख बिदुरकुमार कार्कीले आस सँगाल्नु भएको छ । यसैबीच बर्दिवास नगरपालिकाले शुरु गरेको प्रविधिमैत्री यो काम जिल्लाका अन्य स्थानीयतहले पनि अनुशरण गर्न तदारुखता देखाउन पर्ने जिल्ला समन्वय समिति महोत्तरीका संयोजक सुरेशप्रसाद सिंहले बताएको समाचार आजको द पब्लिक टुडे दैनिकमा छ ।

Scroll to Top