सम्पादकीय । नयाँ वर्ष २०७६ शुरु भएकोे छ । आजबाट शुरु भएको यो वर्षले हामीले अभ्यास गरिरहेको हाम्रा लागि सर्वथा नयाँ संघीय गणतान्त्रिक शासन व्यवस्थालाई थप परिपक्व अनि लोकप्रिय बनाउन सफल हुन सकोस् । यसका लागि सरकार,राजनीतिक दल अनि जनता सबैले आआफ्नो क्षेत्रबाट सर्वोत्तम भूमिका निर्वाह गर्न सकून् । खासगरी लगभग दुईतिहाइ बहुमत प्राप्त नेपाल कम्युनिष्ट पार्टी(नेकपा) सरकारले विद्यमान् राजनीति स्थिरताको सर्वोत्तम उपयोग गर्दै सरकारले नै तय गरेको ‘समृद्ध नेपाल सुखी नेपाली’को लक्ष्य हासिल गर्न सकून् नयाँ वर्षको शुभकामना !
भनिन्छ बिहानीले दिनको भविष्य बताउँछ । जस्तो बिहानी त्यस्तो दिन । यस अर्थलाई व्यापक बनाई अथ्र्याउने हो भने केही अपवादबाहेक मुलुकले लिएको विकास र समृद्धितर्फको गति सकारात्मक रहने आजको विहानीले संकेत गरेको छ । आजको विहानीमा नेपालीजन सद्भाव र सुखी भविष्य खोज्ने उमंगले भरिएका देखिन्छन् । नयाँ संघीय गणतान्त्रिक शासन व्यवस्थाको अभ्यासमार्फत विश्वमा आफ्नो पहिचान स्थापित गर्न तत्परता देखिन्छ । नेपालीजनमा देखिएका यी र यस्ता सकारात्मक गुण र क्षमतालाई राष्ट्रहितमा उपयोग गर्न मौजुदा नेकपा सरकार प्रभावकारी बन्न सक्नुपर्छ । यो वर्ष राजनीतिक क्षेत्रले राष्ट्रलाई सुन्दर,शान्त र विशाल बनाउन सर्वोत्तम योगदान गर्न सक्नुपर्छ । त्यस्तै राष्ट्रिय जीवनमा सक्रिय अन्य व्यक्ति , निकाय अनि संघसंस्थाहरुले देशको विकास र समृद्धिमा अनुकरणीय योगदान दिन सक्नुपर्छ । यसका लागि ईश्वरले सबैलाई दृढ इच्छाशक्ति र सामथ्र्य प्रदान गरुन् हाम्रो शुभकामना !
संघ , प्रदेश र स्थानीय गरी तीनवटै तहका सरकार सञ्चालनमा छन् । सरकार सञ्चालनलाई अतिआवश्यक तहगत ऐनकानुनहरु अझै बन्न सकेका छैनन् । संघीय सरकार गठन भएको एक वर्ष नाघिसकेको छ । यो अवधिमा संघले मौलिक हकसम्बन्धी कानुन बनाइसकेको भए पनि केन्द्र ,प्रदेश र स्थानीय सरकारका अधिकारको सुनिश्चितता र प्रयोगका लागि आवश्यक संघीय कानुन अझै बन्न बाँकी छन् । फलस्वरुप सरकारहरु चाहेजस्तो काम गर्न सकिरहेका छैनन् ।यसले संविधानको पूर्ण कार्यान्वयनमा चुनौती थपिएका छन् । अहिलेको प्रमुख चूनौति भनेको नै संविधानको कुशल कार्यान्वयन हो , त्यसतर्फ सरकार, राजनीतिक दलहरु र राष्ट्रिय जीवनका हरेक पक्षको ध्यान पुगेको आम नेपालीले नयाँ वर्षमा अनुभूति गर्न सकून् । सबै क्षेत्रबीच सद्भाव कायम होस् । सुन्दर, शान्त र विशाल नेपाल निर्माण गर्न ती क्षेत्रहरुबीच सहकार्य होस् । अनि हाम्रा प्रबुद्ध पाठक , विज्ञापनदाता,सहकर्मी,शुभचिन्तकसहित देशविदशमा बस्ने सबै नेपालीलाई सुखशान्ति मिलोस् , नयाँ वर्षको हार्दिक शुभकामना !