द पब्लिक टुडे समाचारदाता
जनकपुरधाम, वैशाख ४ गते । प्रदेश नं. २ को प्रदेशस्तर र १३६ स्थानीय तहका लागि कर्मचारी भर्ना नगर्न लोकसेवा आयोगलाई मुख्यमन्त्री लालबाबु राउतले पत्र पठाएका छन् । मंगलवार निजी सचिवालयमार्फत् मुख्यमन्त्री राउतले आयोगलाई पठाएको पत्र पठाएका हुन् ।
प्रदेश निजामती सेवा ऐन विधेयक प्रदेशसभामा पेश भएर अन्तिम चरणमा पुगेका बेला मुख्यमन्त्रीले यस्तो आग्रह गरेका हुन् । संविधानको धारा २४४ मा प्रदेश लोकसेवा आयोग सम्बन्धी व्यवस्था भए अनुसार प्रदेश लोक सेवा आयोग गठन सम्बन्धी प्रदेशसभामा पेश भएको हो । मुख्यमन्त्री राउतले प्रदेश लोकसेवा आयोग गठन गर्ने तयारीमा सरकार रहेको पत्रमा प्रष्ट पारेका छन् ।

पछिल्ला दिनमा सञ्चारमाध्ययममा लोकसेवा आयोगले प्रदेश र स्थानीय तह समेतका लागि कर्मचारी भर्ना गर्न विज्ञापन खुलाउन लागेको जानकारी प्राप्त भएको भन्दै मुख्यमन्त्रीको सचिवालयले कर्मचारीका लागि विज्ञापन नगर्न आयोगलाई आग्रह गरेको हो । नेपालको संविधानको धारा २२७ मा गाउँपालिका र नगरपालिकाको कर्मचारी र कार्यालय सम्बन्धी अन्य व्यवस्था प्रदेश कानुन बमोजिम हुने उल्लेखित छ ।
त्यसैगरी धारा २८५ को उपधारा ( ३) मा प्रदेश मन्त्रिपरिषद, गाउँ कार्यपालिका र नगर कार्यपालिकाले आफ्नो प्रशासन संचालन गर्न आवश्यकता अनुसार कानुन बमोजिम विभिन्न सरकारी सेवाको गठन र संचालन गर्न सक्ने व्यवस्था छ । सोही व्यवस्था बमोमिज प्रदेश सरकारले लोकसेवा आयोग गठन गर्न लागेको समाचार आजको द पब्लिक टुडे दैनिकमा छ ।
लाेकसेवा आयोगलाई प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले लेखेकाे पत्र
