काठमाडौं, बैशाख ४ गते । पोखराका पत्रकार तथा ताण्डव साप्ताहिक/अनलाइनका सम्पादक अर्जुन गिरीलाई पक्राउ गरी विद्यतुीय कारोबार ऐन अन्तर्गत मुद्दा लगाइएको विरोधमा नेपाल पत्रकार महासंघले आन्दोलनको घोषणा गरेको छ।
महासंघले भोलि ५ गते बिहान ९:३० देखि १०:३० सम्म जिल्ला शाखामार्फत जिल्लामा एक घन्टा धर्ना दिने र महासंघ केन्द्रीय समितिले गृह र सञ्चार मन्त्रालयमार्फत विरोधपत्र बझाउने कार्यक्रम तय गरेको छ।
विद्युतीय कारोबार ऐनको दफा ४७ र ४८ अन्तर्गत पत्रकारलाई पटकपटक पक्राउ गर्ने क्रम बढेको भन्दै महासंघले यो दफा नै खारेज गर्न पनि आग्रह गरेको छ। ‘पत्रकारलाई विद्युतीय कारोबार ऐनको उक्त दफा अन्तर्गत पटकपटक पक्राउ गरी निर्वाध प्रेस स्वतन्त्रता उपभोगमा अवरोध खडा गर्दै प्रेस स्वतन्त्रतालाई निस्तेज बनाउने काम बढेपछि महासंघ आन्दोलन गर्न बाध्य भएको हो,’ महासंघका महासचिव रमेश विष्टद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
थप आन्दोलनका कार्यक्रमबारे महासंघको भोलि बस्ने केन्द्रीय समिति बैठकले निर्णय गर्ने विष्टले बताएका छन्।
पत्रकार गिरीले गत चैत २२ गते ‘ठग ! बदमास विपेन्द्रराज बतास’ शीर्षकमा समाचार लेखेका थिए। पोखराका व्यवसायीहरु जनकराज पहारी र मनोज श्रेष्ठ जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी दिन आएका बेला उनीहरुलाई उदृत गर्दै समाचार लेखिएको थियो। पहारीले २ करोड २५ लाख र मनोज श्रेष्ठले २ करोड ९८ लाख बतासबाट ठगिएको भन्दै दाबी पेस गरेका छन्।