द पब्लिक टुडे समाचारदाता-
गौशाला, वैशाख ५ गते । नेत्र विक्रम चन्द बिप्लव नेतृत्वको नेकपाले आज गरेको नेपाल बन्दले जनकपुर लगायत यस क्षेत्रको जनजीवन प्रभावित भएको छ । बन्दका कारण बिहानैदेखि जनकपुर बसर्पाकदेखि छोटो तथा लामो दुरीमा चल्ने सवारी साधन चल्न सकेको छैन् ।
सार्वजनिक सवारी साधन सञ्चलानम आउन नसक्दा जनकपुरबाट काम विशेषले हिडेका यात्रुहरु अलपत्र परेका छन् । बन्दको असर विभिन्न उद्योगधन्दा तथा विद्यालयमा परेको छ ।
यता बन्दले छोटो तथा लामो दुरीको सवारी साधन नचले पनि दुईपाङ्गे सवारी साधन मोटरसाईकल भने चलेको छ ।
यता, बन्दलाई मध्य नजर गरि स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा पारेको छ । मुख्य बजार, राजमार्ग क्षेत्रलगायतका क्षेत्रमा बाक्लो संख्यामा बिहानैदेखि सुरक्षाकर्मी परिचालन गरिएको छ ।
यस्तै, उपत्यकामा काठमाण्डौंमा फाट्टफुट्ट मात्र गाडी चलेका छन् । बिहानैदेखि लामो तथा छोटो दूरीका गाडी फाट्टफुट्ट मात्र चल्दा यात्रुलाई भने सास्ती भएको छ । परीक्षा दिन हिँडेका विद्यार्थी मर्कामा परेका छन् । बजार र कलकारखाना पनि खुलेका छैनन् ।
प्रतिबन्धित नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले गरेको बन्दको देशभरी नै आंशिक प्रभाव परेको प्रहरीले जनाएको छ । सुरक्षाकर्मीले सुरक्षा दिइरहेकाले ढुक्क भएर गाडी चलाउन प्रहरीले आग्रह गरेको छ ।