द पब्लिक टुडे समाचारदाता-
जनकपुरधाम, बैशाख ५ गते । पोखराका पत्रकार तथा ताण्डव डटकमका सम्पादक अर्जुन गिरीको रिहाइको माग गर्दै पत्रकारहरु आन्दोलित भएका छन् । विद्युतीय कारोबार ऐनको दफा ४७ र ४८ को आधार बनाएर पत्रकारलाई पटकपटक पक्राउ गर्ने क्रम बढेको भन्दै पत्रकारहरु आन्दोलित भएका हुन ।
उक्त दफाको खारेजी माग गर्दै नेपाल पत्रकार महासङ्घको आव्हानअनुसार बिहीबार देशभर जिल्ला प्रशासन कार्यालयअगाडि धर्ना दिइएको छ । बिहीबार नेपाल पत्रकार महासंघ धनुषाको आगुवाइमा एकघण्टा जिल्ला प्रशासन कार्यालय धनुषा अगाडि धर्ना दिइएको छ । यस्तै, नेपाल पत्रकार महासंघ महोत्तरी शाखाको आह्वानमा पनि जिल्ला प्रशासन कार्यालय महोत्तरीमा धर्ना दिइएको छ ।
महासंघका जिल्ला शाखामार्फत देशका सबै जिल्लामा १ घण्टा धर्ना बस्ने र महासङ्घ केन्द्रीय समितिले गृह मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमार्फत विरोधपत्र बझाउने कार्यक्रम रहेको थियो ।
पत्रकारलाई विद्युतीय कारोबार ऐन उक्त दफाअन्तर्गत पटकपटक पक्राउ गरी निर्वाध प्रेस स्वतन्त्रता उपभोगमा अवरोध खडा गर्दै प्रेस स्वतन्त्रतालाई निस्तेज बनाउने काम बढेको भन्दै देशभर संघर्ष गर्ने तयारी भइरहेको छ ।