सन्दीपको टिम लाहोरले ग्लाडिएटर्सविरुद्ध खेल्दै

काठमाडौं, फागुन १५ गते ।
नेपालका युवा लेग स्पिनर सन्दीप लामिछानेको टिम लाहोर कलन्दर्सले पाकिस्तान सुपर लिग क्रिकेटमा आज क्युटा ग्लाडिएटर्ससँग प्रतिस्पर्धा गर्दैछ ।

यूएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सन्दीपको टिम लोहोरले क्युटा ग्लाडिएटर्ससँग आफ्नो दोस्रो खेलमा प्रतिस्पर्धा गर्न लागेको हो । खेल नेपाली समयअनुसार ५ बजेर १५ मिनेटमा सुरु हुनेछ ।

पाकिस्तान सुपर लिगमा यसअघि यी दुई टिमबीच भएको खेलमा क्युटा ग्लाडिएटर्सले लाहोरलाई तीन विकेटले पराजित गरेको थियो ।

आफ्नो पहिलो खेलमा ब्यहोरेको हारलाई बदला लिने दाउमा लाहोर छ । क्युटा ग्लाडिएटर्स भने आफ्नो जितलाई निरन्तरता दिने लक्ष्यमा छ ।

नेपालका युवा खेलाडी सन्दीप लामिछाने प्लेइङ इलाभेनमा पर्न सके यो उनको लागि तेस्रो खेल हुनेछ । यसअघि उनले आफ्नो क्लबबाट दुई खेल खेलेका छन् । सन्दीप बिग ब्यासबाट सीधै दुबई आएका हुन् ।

Scroll to Top