पार्टी एकताको बाँकी काम भोलि टुंगिन्छ : अध्यक्ष प्रचण्ड

काठमाडौं, बैशाख ८ गते । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताका बाँकी काम भोलिसम्ममा टुंगिने बताएका छन् ।

७० औँ पार्टी स्थापना दिवसका अवसरमा नेपाल कम्युनिस्ट पार्टी प्रदेश-३ ले आयोजना गरेको स्थापना दिवस तथा सम्मान कार्यक्रममा काठमाडौंमा प्रचण्डले आज बेलुका सचिवालय बैठक बस्न लागेको जानकारी दिए ।

पार्टी एकताको बाँकी कामबारे छलफल गर्न सचिवालय बैठक आह्वान गरिएको र यसै बैठकले एकताको टुंगो लगाउने पनि उनले बताए। उनले भने,’ सचिवालय बैठकमा सरकार र पार्टीका कामको समीक्षा पनि हुनेछ ।

हामी भोलि नै एकताको विषयलाई टुंग्‍याउने क्रममा छौं।’ पार्टी एकताका जिल्ला, जनसंगठन, र अन्य काम भोलि नै घोषणा गर्ने पनि उनले बताए। मान्छेको अनुहार हेरेर हैन क्षमता हेरेर जिम्मेवारी दिइने प्रचण्डको भनाइ छ।

आइतबार साँझ ५ बजे दुई अध्यक्षको बैठक बसेर प्रस्ताव टुंगो लगाउने र ६ बजे बस्ने सचिवालय बैठकले बाँकी काम टुंगो लगाउने प्रचण्डले बताए। उनले भने,’ढिलो भए पनि अब पार्टी एकता टुंगियो, यसमा शंका नगर्न आग्रह गर्दछौं।


Scroll to Top