दुई सयभन्दा बढी हतियार संकलन

 

मोरङ, बैशाख ९ गते । प्रहरीले एक नम्बर प्रदेशका विभिन्न जिल्लाबाट दुई सय पाँच नाल हतियार संकलन गरेको छ । नेपाल प्रहरीले संकलन गरेका हातहतियार मध्ये एक सय ३० नाल सर्वसाधारणले प्रहरीलाई बुझाएका हुन् भने ७५ नाल विभिन्न स्थानबाट बरामद गरिएको हो ।

नेपाल सरकारको मन्त्री परिषदको चैत्र एक गतेको निर्णयले ३५ दिन भित्र आफुसँग भएका सबै प्रकारका हातहतियार नजिकको सुरक्षा निकायमा बुझाउन आव्हान गरिएको थियो। सर्वसाधारणहरुले बुझाएका हातहतियार मध्ये अधिकांश भरुवा बन्दुक रहेका छन् ।

बुझाएका हातहतियार मध्ये ९५ नाल बैध हतियार रहेका छन् भने बाँकी ३५ नाल नविकरण तथा दर्ता नगरेका अबैध हतियार रहेका छन् ।  संकलन गरिएका र अवैध रुपमा फेला परेका हातहतियार मध्ये सबैभन्दा बढी एक सय ६७ नाल भरुवा बन्दुक रहेका छन् ।

यसैगरी एक नाले टोटा १३ नाल, म्यागनम एक नाल, दुई नाले टोटा चार नाल, जोरनाले बन्दुक छ नाल, दुई नाले ब्रिज लोडिङ एक नाल, एरगन एक नाल, सर्ट गन एक नाल, सानो चाईनिज पेस्तोल एक नाल र एक थान नाल मात्र रहेका छन् ।

एक नम्बर प्रदेशमा सबै भन्दा बढी ताप्लेजुङ जिल्लामा हातहतियार संकलन भएको छ । ताप्लेजुङ जिल्लामा मात्र ३८ जनाले आफुसँग भएका लाईसेन्स प्राप्त हातहतियार बुझाएका छन् भने ७४ नाल हतियार वेवारीसे अवस्थामा फेला परेका छन् ।  यसैगरी पाँचथरमा ३५ नाल, तेह्रथुममा २८ नाल,  मोरङमा १५ नाल, इलाममा ११ नाल र भोजपुरमा दुई नाल हतियार संलकन भएका छन्।

वैधानिक रुपमा हातहतियार राख्ने सर्वसाधारणले हरेक पाँच वर्षमा जिल्ला प्रशासन कार्यालयमा नविकरण गर्नुपर्ने प्रावधान रहेको छ । पाँच वर्षमा नविकरण नभएमा स्वतः अबैध हुने प्रावधान रहेको छ । साभार : थाहा खबर

Scroll to Top