राजपरिवारले प्रयोग गरेको भीभीआईपी बुलेटप्रुफ कार बेवारिसे

काठमाडौँ, बैशाख १० – राजपरिवारले प्रयोग गरेका भीभीआईपी बुलेट प्रुफ कार प्रयोगविहीन अवस्थामा छन् । तर सरकारले विदेशी राष्ट्र प्रमुख आउँदा ठूलो रकम खर्चेर बुलेट प्रुफ कार भाडामा लिँदै आएको छ । यो समाचार आकजो अन्नपूर्ण पोस्ट् दैनिकमा सुरेन्द्र काफ्लेले लेखेका छन् ।

राजपरिवारका सदस्यले प्रयोग गरेका ११ भीभीआईपी बुलेट प्रुप कार प्रयोगमा आएका छैनन् । यसमध्ये एउटा मात्रै चालू अवस्थामा छ ।

त्यसलाई उपराष्ट्रपति नन्दबहादुर पुनले प्रयोग गरिरहेका छन् । यो कार २०७५ साल असोज ७ गते उपराष्ट्रपति पुनलाई हस्तान्तरण गरिएको हो ।

थन्क्याइएका १० कार सामान्य सर्भिसिङ, ब्याट्री परिवर्तन र इन्जिन मर्मत गरी चल्न सक्ने अवस्थामा रहेको महालेखाको प्रतिवेदनमा उल्लेख छ। थन्क्याइएकामध्ये ४ कार उपराष्ट्रपति पुनलाई हस्तारन्तरण गरेकै दिन नेपाली सेनालाई दिइएको छ। सेनाले लगेका कार पनि प्रयोगमा आएका छैनन्।

६ वटा कार नारायणहिटी दरबार संग्रहालयमै प्रयोगविहीन अवस्थामा छन्। ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनका बेला सवारी चलाउन किनिएका ६ वटा बुलेट प्रुफ कारसमेत नारायणहिटी दरबार संग्रहालय परिसरमा छन्। २०६१ सालमा २८ करोड रुपैयाँ खर्च गरेर नौ वटा बुलेट प्रुफ कार किनिएको थियो। ती कार मर्मत गरी सञ्चालनमा ल्याउन पनि महालेखाले सुझाएको छ।

नेपालमा विभिन्न समयमा हुने सार्क शिखर सम्मेलन, बिम्स्टेक शिखर सम्मेलनलगायत विदेशी राष्ट्र प्रमुख तथा सरकार प्रमुख सम्मिलित हुने बैठकमा भीभीआईपीलाई आवश्यक बुलेट प्रुफ कारको अभाव छ। त्यस्तो बेला अन्य देशबाट भाडामा ल्याई भीभीआईपी सवारी चलाउनुपर्ने बाध्यता छ।