वडाध्यक्षको तलब, भत्ताले विद्यार्थीलाई पाठ्यपुस्तक

 

गोरखा, बैशाख ११ गते । गोरखाको शहीद लखन गाउँपालिका -७ का वडाध्यक्ष शरण श्रेष्ठले जनप्रतिनिधिबापत आफूले पाएको तलब र भत्ताले सरकारी विद्यालयमा पढ्ने विद्यार्थीलाई किताब किनेर दिएका छन् ।

वडाभित्रका पाँच वटा सरकारी विद्यालयका विद्यार्थीलाई २ लाख ८८ हजार रुपैयाँले अंग्रेजी विषयका किताब किनेर वडाध्यक्ष श्रेष्ठले वितरण गरेका हुन् ।

सरकारले अन्य विषयका किताब नि:शुल्क उपलब्ध गराए पनि अंग्रेजी विषयका किताब भने विद्यार्थीले नै खरिद गर्नुपर्छ।

विद्यार्थी र अभिभावकलाई आर्थिक भार नपरोस् भनेर आफूले पाएको पारिश्रमिक र भत्ताले शहीद स्मृति माविमा ७० थान, चण्डिका आधारभूत विद्यालयमा ६७ थान, लखनथापा आधारभूत विद्यालयमा ५३ थान र खाब्दी र मकैपुर प्राविका विद्यार्थीलाई किताब उपलब्ध गराएको श्रेष्ठले जानकारी दिए।

वडाध्यक्ष निर्वाचित भएपछिका २१ महिनाको तलब, भत्ता श्रेष्ठले वडाभित्र शिक्षा, स्वास्थ्य र मन्दिर निर्माणमा खर्च गरेका हुन्। बालकक्षादेखि पाँच कक्षासम्मका विद्यार्थीलाई अंग्रेजी विषयको किताब खरिद गरी हस्तान्तरण गरेको उनले बताए ।

राष्ट्रिय सभामा प्रमुख प्रतिपक्षी दलका नेता, नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले विद्यार्थीलाई किताब हस्तान्तरण गरेका हुन् ।

Scroll to Top