चार दिनमा दुई पटक भिड्दै बार्सिलोना र रियल म्याड्रिड

बार्सिलोना, फागुन १५ गते ।
स्पेनका चिरपरिचित प्रतिद्वन्द्वी फुटबल क्लबद्वय रियल म्याड्रिड र बार्सिलोना चार दिनमा दुई पटक प्रतिस्पर्धा गर्दैछन्।

बुधबार रियल म्याड्रिडको मैदानमा दुई क्लबबीच कोपा डेल रेअन्तर्गत सेमिफाइनलको दोस्रो लेग हुँदैछ। यसअघि कोपा डेल रेको पहिलो लेगमा दुवै टिमले १–१ गोलको बराबरी खेलेका थिए।

शनिबार दुई क्लबबीच ला लिगाको खेलमा प्रतिस्पर्धा हुँदैछ।

बार्सिलोनाका लागि कोपा डेल रेमा लगातार छैटौं पटक फाइनलमा स्थान सुरक्षित गर्न रियलको मैदानमा गोल गर्नु पर्ने दबाब छ। किनकी बार्सिलोनाको मैदानमा गोल गरेको रियल केहि फाइदामा छ। बार्सिलोनाले कोपा डेल रेको पछिल्ला चार संस्करणको उपाधि जितेको छ।

खेलअघि बार्सिलोनाका प्रशिक्षक अर्नेस्टो भाल्भार्डेले रियलको मैदानमा गोल गर्नुको विकल्प नभएको बताउँदै आक्रामक खेल खेल्ने बताएका छन्। उनले रियलविरुद्ध एक सातामै दुई खेल खेल्नु ठूलो भारी बोकेको जस्तै हुने बताए। त्यसैले सुरुमा पहिलो खेलमा केन्द्रीत हुने उनको भनाइ छ।

बुधबार हुने खेल बार्सिलोनाका फरवार्ड लियोनल मेसीका लागि ४०औं एलक्लासिको भिडन्त हो। उनी एलक्लासिकोमा सबैभन्दा बढी गोल गर्ने खेलाडी हुन्। उनले ३९ खेलमा २६ गोल गरिसकेका छन्।

यता कोपा डेल रेलको अर्को सेमिफाइनलमा भ्यालेन्सिया र रियल बेटिस भिड्दैछन्।

Scroll to Top