जनकपुरमा नाटक महोत्सव हुने

धनुषा – मैथिली कला संस्कृति, भाषा एवं साहित्यलाई प्रवर्द्धन गर्ने उद्देश्यले जनकपुर साहित्य कला तथा अन्तर्राष्ट्रिय नाटक महोत्सव हुने भएको छ ।
मैथिली विकास कोषको आयोजनामा आउँदाे फागुन १८ गतेदेखि २३ गतेसम्म महोत्सव हुन लागेको हो ।

मैथिली विकास कोषले सोमबार पत्रकार सम्मेलन गरी ६ दिवसीय महोत्सवमा साहित्य, समाज, अर्थ, राजनीति, कला, संस्कृति विषयमा विमर्श तथा आधुनिक एवं लोककला प्रर्दशन, मिथिला चित्रकला, सिक्की बाँस आदिको कलात्मक प्रदर्शन र अन्य महत्वपूर्ण वैचारिक विमर्श हुने जनाएको छ ।

यस्तै यस महोत्सवमा मैथिली नाट्य प्रर्दशन, रङ्गारङ्ग सांस्कृतिक कार्यक्रम लोककला, ललितकला, मिथिलाको भोजन एवम पुस्तक प्रदर्शनीसमेत राखिएको कोषका अध्यक्ष जीवनाथ चौधरीले बताउनुभयो ।

उहाँका अनुसार यस महोत्सवमा नेपाल, भारत, अफगानिस्तानलगायत अन्य देशका समेत विद्वान एवं कलाकारहरु सहभागी हुनेछन् ।

Scroll to Top