सिरहामा श्रीमतीलाई ज्युँदै जलाएर हत्या गर्ने प्रयास

 

सिरहा, बैशाख १३ गते । धनुषामा एक महिलालाई ज्युँदै आगो लगाएको एक साता नबित्दै सिरहामा पनि एक महिलालाई आफ्नै श्रीमानले आगो लगाएर हत्या गर्ने प्रयास गरेको घटना सार्वजनिक भएको छ ।

सिरहा नगरपालिका–८ की २१ वर्षीया कञ्चनदेवी मण्डल खत्वेको शरीरमा उनका श्रीमान बेचन मण्डल खत्वेले आगो लगाएका हुन् ।

आगोले कञ्चनको शरीरको ८० प्रतिशत भाग जलेको छ । घटनालगत्तै कञ्चनको उद्धार गरी प्रहरीले उपचारको लागि विपी कोइराला विज्ञान प्रतिष्ठान धरान पठाएको थियो । तर शरीरको अधिकांश भाग जलिसकेकाले त्यहाँ उपचार सम्भव नभएपछि कञ्चनलाई उपचारको लागि काठमाण्डौ रिफर गरिएको सिरहा प्रहरीले जनाएको छ ।

घटना पश्चात् कञ्चनकी पति बेचन मण्डल खत्वे फरार भएका छन् । कञ्चनकी सासुलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । आगो लगाउनुको कारण खुलेको छैन ।

यसअघि गत वैशाख ५ गते धनुषाको शहीदनगर नगरपालिका १ की २० वर्षीया निर्मला यादवलाई पति मुकेश यादवले शरीरमा मट्टीतेल खन्याएर आगो लगाइदिका थिए । निर्मलाको पनि शरीरको ४० प्रतिशत भाग जलेको छ । उनको उपचार अहिले काठमाडौंको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भइरहेको छ ।

प्रदेश २ सरकारले छोरीलाई बचाउन मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउ अभियान नै सुरु गरेको छ । तर पनि यहाँ विभिन्न बाहानामा महिलामाथिको हिंसा बढिरहेको छ । 

Scroll to Top