काठमाडौं– भारतमा धर्मको नाममा व्यापार गर्दै आएका अभियन्ताहरू एकपछि अर्को अपराधमा दोषी ठहर हुँदै गएका छन्। धर्मका आडमा गरिने यौन शोषण र हत्यामा हिन्दु धर्मका बाबाहरू अदालतबाट दोषी ठहर हुन थालेका छन्।
आसाराम बापु, गुरुमित सिंह, चन्द्रस्वामी, रामपाल, नित्यानन्द स्वामी र स्वामी भीमानन्द यिनै अभियोगमा मुद्दा खेपिरहेका छन्।
त्यसमध्ये आसाराम बापु र उनका छोरा नारायाण साई बलत्कारी ठहर भएका छन्। आजभन्दा ठीक एक वर्षअघि नाबालिग बालिकालाई बलात्कार गरेको अभियोगमा जोधपुर अदालतले धर्मगुरु आसारामलाई दोषी ठहर गरी आजीवन काराबासको सजाय सुनाएको थियो।
शुक्रबार सुरतको सेसन अदातलले आसारामका छोरा नारायणलाई पनि दोषी ठहर गरेको छ। उनीमाथि कति सजाय हुने भन्ने विषयमा ३० अप्रिलमा अदालतले निर्णय सुनाउने छ।
को हुन् नारायण साई?
आसाराम बापुका छोरा तथा स्वघोषित गुरु नारायण साई भारतमा बलात्कार र यौनकान्ड मच्चाउने कथित गुरुको सूचीमा अग्रपंक्तिमा पर्छन्। आसारामको आश्रममा सन् २००२ देखि २००५ को अवधिमा महिलामाथि दुर्व्यवहार र बलात्कार गरेको अभियोगमा नारायण अहिले पनि जेलमै रहेका छन्।
उनीमाथि सात किशोरीमाथि यौन दुव्यर्वहार गरेको आरोपमा विभिन्न अदालतमा मुद्दा विचाराधीन रहेको छ। यसरी उनको सिकार हुने किशोरीमध्ये अधिकांश उनका अनुयायी थिए। उनी २०७० मंसिर २० गते पक्राउ परेका थिए।
बयान दिनेलाइ गोली हानी हत्या
बाबु छोराविरुद्ध बयान दिन पुगेका एक व्यक्तिको २०७२ बैसाख ३० गते गोली हानी हत्या गरिएको थियो। हरियाणाको पानीपतमा बयान दिन खोजने महेन्द्र चाबलाको घरभित्रै छिरेर गोली हानी हत्या गरिएको थियो। चावला तिनै व्यक्ति थिए, जसले पहिलो पटक यो प्रकरणमा खुलेर बयान दिएका थिए।
आसारामका बाबुछोरा धर्म गुरु नभई बलत्कारी भएको उनले पर्दाफास गरेका थिए। आसारामको विपक्षमा बयान दिने कुनै समय उनकै निजि चिकित्सकको रुपमा काम गरेका अमृत भाइको पनि २०७१मा गोली हानी हत्या गरिएको थियो।
आसारामको अलावा यस विषयमा शिवा, शरतचन्द्र, शिल्पी तथा प्रकाश नाम गरेका व्यक्तिहरू अभियुक्त थिए। अदालतले शिल्पी र शरतचन्द्रलाई २०/२० वर्षको जेल सजाय सुनाएको थियो। आसारामको आश्रमको भान्छामा काम गर्ने प्रकाश र आसारामका निजी सचिव प्रकाशलाई भने अदालतले रिहा गर्न आदेश दिएको थियो।
पुसिललाई पाँच करोड घुस दिने प्रयास
बलात्कार अभियोगमा पक्राउ गरे लगत्तै नारायणले जेलबाट छुट्ने प्रयास गरेका थिए। उनले आफ्ना पाँच साथीमार्फत् मुद्दा मिलाउन पाँच करोड समेत बुझाएका थिए। उक्त प्रकरणमा प्रहरीले २०७० मंसिर २८ गते उनका पाँच साथी र एक सव इन्स्पेक्टरलाई पक्राउ गरेको थियो।
बलात्कारको आरोप कमजोर अभियोजन गर्न भन्दै साथीमार्फत् प्रहरीलाई घुस दिइएको थियो। सुरत अपराध अन्वेषण शाखामा कार्यरत रहेका सिके कुंभणीसहित नारायाणका पाँच साथीको पक्राउ गरिएको थियो।
के हो जोधपुर घटना?
७७ वर्षीय धर्मगुरु आसाराममाथि सन् २०१३ मा १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोप लागेको थियो। ती किशोरीका आमाबुबा आसारामका भक्त थिए।
एक दिन छिंदवाडा आश्रमको विद्यालयमा ती किशोरी लडेपछि आश्रमका केही व्यक्तिको सल्लाहमा आमाबुबाले उपचारका लागि जोधपुरमा रहेको आसारामको आश्रममा पुर्याएका थिए। प्रहरीका अनुसार ती किशोरीलाई भूतप्रेतको छायाँले नछोडेको भन्दै आश्रममा लैजान आग्रह गरिएको थियो।
प्रहरीका अनुसार उपचार गर्न आएकी किशोरीमाथि आसारामले बलात्कार गरेका थिए। आसाराममाथि अन्य महिलाहरूलाई पनि बलात्कार गरेको घटनामा मुद्दा चलिरहेको छ।
१५ अगस्ट २०१३ मा आसारामले दुव्र्यवहार गरेपछि ती किशोरीले २० अगस्टका दिन दिल्लीको एउटा प्रहरी चौकीमा उजुरी दिइन्। त्यसपछि यो मुद्दालाई जोधपुर सारिएको थियो। त्यसपछि आसारामलाई मध्य प्रदेशको इन्दौरबाट गिरफ्तार गरिएको थियो। उनलाई गिरफ्तार गरिएको विरोधमा उनका समर्थकले विरोध तथा हंगामा मच्चाएका थिए।
गिरफ्तारपछि आसारामको मेडिकल चेक गरिएको थियो। त्यसमा उनी दोषी देखिएका थिए। २०१३ कै सेप्टेम्बर २ का दिन उनलाई न्यायिक हिरासतमा राखिएको थियो। त्यसपछि उनी जेलमा रहेका छन्। आसारामको तर्फबाट अहिलेसम्म १२ पटक जमानतका लागि निवेदन परे पनि एउटा पनि स्वीकार गरिएन।
को हुन् आसाराम बापु?
आसाराम धार्मिक उपदेश दिने गुरु मानिन्छन्। उनले भारतमा झण्डै चार सय आश्रम स्थापना गरेका छन्। विश्वभर उनका लगभग चार करोडको संख्यामा भक्त रहेको बताइन्छ।
आसारामको जन्म वर्तमान पाकिस्तानको सिन्ध प्रान्तमा सन् १९४१ मा भएको थियो। भारत–पाकिस्तान विभाजनपछि उनी भारतको गुजरातमा आएर बसेका थिए। ४५ वर्ष पहिले नै उनले गुजरातमा आफ्नो पहिलो आश्रम स्थापना गरेका थिए। भारतका कैयौं राजनेतासमेत उनको प्रशंसक रहेको बताइन्छ।
भारतका वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदी पनि आसारामको प्रशंसक थिए। मोदी उनको धार्मिक कार्यक्रममा समेत समावेश भएका थिए। तर, आसारामलाई ढोंगी र समाजमा अराजकता फैलाउने बाबाको रुपमा पनि धेरैले हेर्ने गरेका छन्।(एजेन्सीको सहयोगमा दुर्गा दुलालको अनुवाद)