प्रदेश २ मा २ हजार कर्मचारीलाई हाजिरकै भरमा तलव

 

जनकपुरधाम, बैशाख १४ गते ।प्रदेश २ सरकारका मुख्यमन्त्री लालबाबु राउतले संघीय सरकारले कर्मचारी पठाउन असहयोग गरेको आरोप लगाइरहेको बेलामा दुई हजार कर्मचारी मुख्यमन्त्री कार्यालयमा  नै थन्किएका छन् ।

संघीय सरकारले चैतको मध्यमा प्रदेश सरकारलाई २ हजार ४२२ कर्मचारी पठाए पनि हाल पदस्थापन गर्न नसक्दा कर्मचारी मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा थन्किएका हुन्। हरबखत संघीय सरकारको खेदो खन्ने प्रदेश २ सरकारले समायोजन भएर आएका कर्मचारी महिना दिन वित्न लाग्दा समेत पदस्थापन गर्न सकेकाे छैन।

तर उनीहरू मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयबाट हाजिर बनाउँदै तलव खाएर दिन काट्न बाध्य भएको एक कर्मचारीले बताए। समान्य प्रशासन मन्त्रालयबाट प्रदेश २ मा पदस्थापनको लागि २ हजार ४२२ कर्मचारी नामावली सहितको पत्र मुख्यमन्त्री कार्यालयमा चैत महिनाको मध्य तिर पठाएको थियो।

जसमा अहिलेसम्म लेखा अधिकृत, शाखा अधिकृत, सह–लेखापालकाे मात्रै पदस्थापन गरिएकाे छ। नायब सुब्बा, सहायक वन अधिकृत, खरिदार, प्राविधिक तर्फका कर्मचारी, कम्प्युटर अपरेटर, सहायक कम्प्युटर अपरेटर, कार्यालय सहयोगी जस्ता सयौं कर्मचारीको पदस्थापन भएको छैन। जस कारण संयौ कर्मचारी मुख्यमन्त्री कार्यालयमै हाजिर गरेर कामै नगरी तलब खाइरहेका छन्।

शुक्रबार मुख्यमन्त्री कार्यालयमै हाजिरी गर्न आएका एक कर्मचारीले भने, ‘हामीलाई कतै पदस्थापन नगरेसम्म यसरी नै मुख्यमन्त्री कार्यालयमा आएर हाजिर गरी तलब खाने हो। यो हाम्रो रहर होइन। बाध्यता हो। प्रदेश सरकारले चाँडै पदस्थापन गरोस्। हामी काममा खट्छौं।’

एकातिर कर्मचारीको अभावमा कामकाज प्रभावित भइरहेको समयमा पदस्थापन नहुँदा कार्यालयमा दैनिक कार्यसम्पादनमा समस्या भइरहेको शहिदनगर नगरपालिकाका प्रम्ख उदयकुमार बरबरिया यादवले बताए।

प्रदेश २ बाहेक अन्य सबै प्रदेशहरूमा कर्मचारी पदस्थापनको काम दचैत मसान्तमै भए पनि यहाँ हुन नसकेको मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयका निमित प्रमुख सचिव कोमल खत्रीले जनाए। उनले भने, ‘कर्मचारी पदस्थापनको लागि मापदण्ड तयार गर्ने काम भइरहेकाले चाँडै पदस्थापन हुन्छ। मापदण्ड पूरा हुने बित्तिकै कर्मचारी पठाइहाल्छौं।’

Scroll to Top