हावाहुरीबाट धनुषामा ५२ घरटहरामा क्षति, प्रदेश सरकारले राहत दिने

धनुषा, बैशाख १५ – आइतबार बिहान आएको भीषण हावाहुरीले जनकपुर लगायत धनुषा जिल्लामामा ५२ वटा घर टहरमा क्षति पुर्‍याएको छ ।

हावाहुरीबाट झण्डै ३९ लाख ३८ हजार रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । हावाहुरीले ५२ घरटहरा मध्ये कतिपय भत्काएको छ भने कतिपय घरको छानो र पर्खाल भत्काएको छ ।

हावाहुरीले मानवीय क्षति नभए पनि धनुषा जिल्लामा १ सयभन्दा बढी बिजुलीको खम्बा ढलेर क्षति भएको छ । यस्तै धेरै ठाउँमा रुख भाँचिएको छ भने ग्रामीण भेगमा बालीनाली समेत नष्ट गरेको छ ।

यता धनुषाका हावाहुरी प्रभावितहरुलाई समेत प्रदेश सरकारले राहत दिने भएको छ । उज्यालोसँग कुरा गर्दै प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले हावाहुरी प्रभावितहरुको स्थलगत निरीक्षण गरी क्षति अनुसार विचार गरेर प्रदेश सरकारले राहत दिने बताउनुभयो । 

Scroll to Top